काभ्रे। नेपाली कम्युनिस्ट पार्टी काभ्रे जिल्ला कमिटी सदस्य तथा खानीखोला गाउँपालिका–५ का वडा अध्यक्ष बुद्धिबहादुर स्याङतानले श्री अमर शहीद स्मृति प्रतिष्ठानलाई ०–८–२–३ क्षेत्रफलको जग्गा विधिसम्मत रूपमा नामसारी (पास) गरी दान गर्नुभएको छ।
प्रतिष्ठानका अनुसार स्याङतानले सामाजिक हित, संस्थाको दीर्घकालीन विकास तथा आगामी पुस्तालाई समेत लाभ पुग्ने उद्देश्यले उक्त जग्गा दान गर्नुभएको हो। उहाँको यस योगदानलाई प्रतिष्ठानले अनुकरणीय, प्रेरणादायी तथा समाजसेवाको उत्कृष्ट उदाहरणका रूपमा लिएको जनाएको छ।


प्रतिष्ठानकी अध्यक्ष सुन्तली थिङले सादा जीवन, उच्च विचारका धनी तथा जनप्रेमी नेता बुद्धिबहादुर स्याङतानप्रति संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै उहाँको उदार सहयोगले प्रतिष्ठानका भावी कार्यक्रम सञ्चालन, पूर्वाधार विकास तथा संस्थागत सुदृढीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतिष्ठानले सामाजिक सेवाप्रति समर्पित स्याङतानको यस परोपकारी योगदानको उच्च सम्मान गर्दै उहाँको सुस्वास्थ्य, दीर्घायु तथा निरन्तर सामाजिक सेवामा सक्रिय रहन शुभकामना समेत व्यक्त गरेको छ।
स्थानीय स्तरमा सामाजिक उत्तरदायित्व र परोपकारी भावनाको उत्कृष्ट उदाहरणका रूपमा रहेको यस जग्गा दानले प्रतिष्ठानको दीर्घकालीन विकासमा महत्वपूर्ण आधार तयार गर्ने अपेक्षा गरिएको छ।










