खानीखोला । काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका–३ ले एकल पुरुष तथा निसन्तान दम्पति लक्षित कार्यक्रम अन्तर्गत १८ जना लाभग्राहीलाई ब्लाङ्केट, थर्मस र चियादानी वितरण गरेको छ।
आज आयोजित कार्यक्रममा वडा नं. ३ का १८ जना एकल पुरुष तथा निसन्तान दम्पतिलाई दैनिक जीवनमा उपयोगी सामग्री हस्तान्तरण गरिएको हो। सामाजिक सुरक्षा र आत्मीयताको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।


कार्यक्रममा बोल्दै वडा अध्यक्ष सागर जिम्बाले एकल जीवन बिताइरहेका तथा निसन्तान दम्पतिहरूलाई स्थानीय सरकार सधैं साथमा रहेको अनुभूति दिलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए। उनले यस्ता वर्गको सम्मान, हौसला र सामाजिक संरक्षणका लागि आगामी दिनमा पनि आवश्यक कार्यक्रमहरू सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।
वडाले सञ्चालन गरेको यस कार्यक्रमप्रति लाभग्राहीहरूले खुसी व्यक्त गर्दै स्थानीय सरकारले आफूहरूको आवश्यकता र भावनालाई सम्बोधन गरेको भन्दै धन्यवाद दिएका छन्।
खानीखोला गाउँपालिका–३ ले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै विभिन्न लक्षित वर्गका लागि कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।










