काभ्रे । प्रतिकूल मौसमका कारण हेली एम्बुलेन्समार्फत उद्धार हुन नसकेपछि काभ्रेको खानीखोला गाउँपालिका–१ की २० वर्षीया गर्भवती सानीमाय लोप्चनलाई पैदलमार्गबाट अस्पतालतर्फ लगिएको छ।

खानीखोला गाउँपालिकाका अनुसार सानीमायलाई सुत्केरी गराउन कठिनाइ भएपछि उनलाई वडा नं. ६ स्थित सालधारा स्वास्थ्य चौकी (बर्थिङ सेन्टर) मा भर्ना गरिएको थियो। स्वास्थ्य परीक्षणका क्रममा गर्भमा रहेको बच्चा उल्टो रहेको र सालनाल अगाडि निस्किएको अवस्था देखिएपछि आमा र शिशु दुवैको स्वास्थ्य जोखिममा परेको चिकित्सकहरूले बताएका थिए। यस्तो अवस्थामा बर्थिङ सेन्टरमा सुरक्षित सुत्केरी गराउन सम्भव नभएपछि तत्काल सुविधा सम्पन्न अस्पतालमा रिफर गरिएको थियो।

गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमार्फत हेली एम्बुलेन्स उपलब्ध गराइदिन अनुरोध गर्दै गृहमन्त्रालयसम्म समन्वय गरेको थियो। स्थानीय सरकार, जिल्ला प्रशासन र गृहमन्त्रालयले हिजोदेखि निरन्तर प्रयास गरे पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर उडाउन सम्भव हुन सकेन।

हवाई उद्धार असफल भएपछि सानीमायलाई स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा पैदलमार्गबाट अस्पतालतर्फ लगिएको छ। उद्धार अभियानमा खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ) स्वयं खटिएका छन्।

दुर्गम क्षेत्रमा प्रतिकूल मौसमका कारण आकस्मिक स्वास्थ्य सेवा प्रभावित हुँदा गर्भवती महिलासहित गम्भीर बिरामीहरूले समयमै उपचार पाउन कठिनाइ हुने समस्या पुनः उजागर भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय