काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८, खार्पाचोकमा बुद्धचित्त माला लुटिएको भनिएको घटनामा अर्को पक्षले भने आफूहरूले कुनै लुटपाट नगरी लिखित सम्झौताअनुसार नै माला लिएको दाबी गरेको छ।

उक्त दाबीलाई पुष्टि गर्न भन्दै सम्बन्धित पक्षले वडा कार्यालयमा दर्ता गरिएको जानकारीपत्र, दुईपक्षीय करारनामा तथा वडा कार्यालयबाट काटिएको राजस्व रसिद सार्वजनिक गरेको छ।

सार्वजनिक गरिएको दुईपक्षीय करारनामा अनुसार इन्द्रबहादुर ज्यू ठकुरीका छोरा कुलबहादुर ज्यू ठकुरी (प्रथम पक्ष) र राजकुमार तामाङसहित चार जना (दोस्रो पक्ष) बीच बुद्धचित्त फलदाना माला सम्बन्धी सम्झौता भएको उल्लेख छ। करारनामामा किता नम्बर ३२६ र ३२९ मा रहेको बुद्धचित्तको फलदाना माला रु. ७ लाख ५० हजार मा बिक्री गर्ने सहमति भएको उल्लेख गरिएको छ।

यस्तै, वडा कार्यालयमा बुझाइएको जानकारीपत्रमा सम्झौताअनुसार चार जनाको उपस्थितिमा माला टिप्ने सहमति भए पनि त्यस दिन सबै उपस्थित नभएकाले दुई जनाको उपस्थितिमै माला टिपिएको उल्लेख छ। साथै, माला धेरै खस्न थालेकाले पटक–पटक सम्पर्क गर्दा पनि सम्बन्धित पक्ष उपस्थित नभएपछि माला टिपिएको दाबी गरिएको छ।

यसअघि घटनालाई लिएर करिब ५० लाख रुपैयाँ बराबरको बुद्धचित्त माला लुटिएको, घटनामा संलग्न व्यक्तिहरूले सीसीटीभी ढाकेको, कुरुवालाई नियन्त्रणमा लिएको तथा मोबाइलसमेत खोसेको आरोप सार्वजनिक भएको थियो। घटनामा केही व्यक्तिहरूको नामसमेत जोडिएको थियो।

तर, आरोप लागेका पक्षले भने ती आरोप अस्वीकार गर्दै “हामीले लुटपाट गरेको होइन, लिखित सम्झौताअनुसार नै माला लिएका हौं” भन्ने धारणा सार्वजनिक गरेका छन्।

यस घटनाबारे नेपाल प्रहरीले अनुसन्धान जारी रहेको जनाएको छ। सार्वजनिक भएका आरोप तथा प्रत्यारोपबारे प्रहरीले प्रमाण सङ्कलन, सम्बन्धित पक्षसँग बयान तथा कागजातको अध्ययन गरिरहेको बताइएको छ। अनुसन्धानबाट प्राप्त तथ्यका आधारमा मात्रै घटनाको वास्तविकता र कानुनी जिम्मेवारी स्पष्ट हुने भएकाले हाल कुनै निष्कर्षमा पुग्न नमिल्ने अवस्था रहेको छ।

दुवै पक्षले आ–आफ्नो दाबी सार्वजनिक गरिरहेका बेला स्थानीयवासीले निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन र दोषी देखिए कानुनबमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय