काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले सार्वजनिक स्थानमा अभद्र व्यवहार गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।
कार्यालयले सोमबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ९ गते दिउँसो करिब ३:१५ बजे काठमाडौं महानगरपालिका–२२ टेकुस्थित सार्वजनिक स्थानमा सर्वसाधारण तथा महिलामाथि गालीगलौज गर्ने, दुःख–हैरानी दिने तथा सवारी आवागमनमा अवरोध पुर्याएको भन्ने सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।


प्रहरीका अनुसार घटनास्थलमा पुगेर सोधपुछ गर्ने क्रममा ती व्यक्तिहरूले प्रहरी कर्मचारीसँग समेत अभद्र व्यवहार गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङ गाउँपालिका–२ स्थायी घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–९ बस्ने २१ वर्षीय आशिष मोक्तान, काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ बस्ने ४१ वर्षीय लोकमान मोक्तान तथा सोही स्थानका ४४ वर्षीय मोहन सिंह मोक्तान रहेका छन्।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।










