निजगढ । बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य गणेश धिमालले प्रतिनिधिसभाको बैठकमा निजगढ नगरपालिका–२ सिंगौलका पूर्व वडा अध्यक्ष केशव ढोडारी र वनदेवी सामुदायिक वन उपभोक्ता समूहका पूर्व अध्यक्ष सिद्धबहादुर थापाको नाम उल्लेख गर्दै ‘भूमाफिया’ भनेपछि त्यसको विरोध सामाजिक सञ्जालमा चुलिएको छ।

सांसद धिमालको अभिव्यक्तिप्रति नेकपा (एमाले) का स्थानीय नेता–कार्यकर्ता तथा विभिन्न व्यक्तिहरूले तथ्य र प्रमाणबिना सम्मानित नागरिकमाथि लाञ्छना लगाइएको आरोप लगाउँदै आपत्ति जनाएका छन्।

विरोध जनाउनेमध्ये पूर्व वडा अध्यक्ष केशव ढोडारीले फेसबुकमार्फत सबैभन्दा विस्तृत प्रतिक्रिया सार्वजनिक गर्नुभएको छ। उहाँले सांसद धिमालको अभिव्यक्तिलाई तथ्य र प्रमाणविहीन, चरित्रहत्या गर्ने तथा संसदको गरिमाविपरीत भएको टिप्पणी गर्नुभएको छ।

ढोडारीले आफ्नो प्रतिक्रियामा सिंगौल क्षेत्रको विवादित जग्गासम्बन्धी इतिहास उल्लेख गर्दै माओवादी जनयुद्धकालदेखि हालसम्मको घटनाक्रम प्रस्तुत गर्नुभएको छ। उहाँका अनुसार उक्त जग्गामा आफूले कुनै व्यक्तिगत स्वार्थ नराखी विद्यालय, मन्दिर, गुम्बालगायत सार्वजनिक संस्थाको संरक्षणका लागि मात्र भूमिका निर्वाह गरेको दाबी गर्नुभएको छ।

उहाँले सोही विषयमा विगतमा दायर भएको मुद्दामा अदालतबाट सफाइ पाइसकेको उल्लेख गर्दै संसदमा पुनः आफूलाई ‘भूमाफिया’को आरोप लगाइनु न्यायोचित नभएको बताउनुभएको छ।

ढोडारीले सांसद धिमालसँग आफूविरुद्ध कुनै प्रमाण भए सार्वजनिक गर्न, अन्यथा प्रतिनिधिसभामा व्यक्त अभिव्यक्तिका लागि सार्वजनिक रूपमा माफी माग्न आग्रह गर्नुभएको छ। साथै, सांसदको अभिव्यक्तिले आफ्नो व्यक्तिगत, सामाजिक तथा राजनीतिक जीवनमा नकारात्मक असर परेको जिकिर गर्दै संसद जस्तो गरिमामय संस्थामा बोलिने विषय तथ्य र प्रमाणमा आधारित हुनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।

यस विषयमा सांसद गणेश धिमालको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय