काठमाडौं  । तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालले तराई–मधेश क्षेत्रमा पछिल्ला दिनमा भएका हिंसात्मक तथा साम्प्रदायिक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मोर्चाले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

शनिबार जारी प्रेस विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विविधताले सम्पन्न राष्ट्र भएकाले सबै जाति, भाषा, धर्म र संस्कृतिप्रति समान सम्मान तथा सामाजिक सद्भाव कायम राख्नु राष्ट्रिय एकताको आधार भएको उल्लेख गरिएको छ।

मोर्चाले पछिल्ला घटनाले देशको शान्ति, सुरक्षा र कानुनी शासनमाथि गम्भीर प्रश्न उठाएको भन्दै कुनै पनि प्रकारको हिंसा, बल प्रयोग र सामाजिक सद्भाव बिथोल्ने गतिविधिको कडा भर्त्सना गरेको छ। लोकतान्त्रिक व्यवस्थामा हिंसाको कुनै स्थान नरहेको उल्लेख गर्दै समस्याको समाधान संवाद, सहमति र शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ।

विज्ञप्तिमार्फत सरकारले घटनामा संलग्न दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न, पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको व्यवस्था गर्न र तराई क्षेत्रमा शान्ति, सुरक्षा तथा अमनचयनको अवस्था पूर्ण रूपमा कायम गर्न माग गरिएको छ।

यस्तै, संवेदनशील परिस्थितिमा संयमता अपनाउन, अफवाह नफैलाउन र सामाजिक तथा राष्ट्रिय सद्भाव कायम राख्न सबै राजनीतिक दल, सामाजिक संघसंस्था, सञ्चारमाध्यम र सर्वसाधारणलाई मोर्चाले अपिल गरेको छ। अन्त्यमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र आपसी सहिष्णुताको संरक्षण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय