काठमाडौं । काठमाडौं उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका गरगहना लुट्दै आतंक मच्चाएको आरोप लागेका ‘कर्मा समूह’का मुख्य नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मुख्य अभियुक्त कर्मा तामाङलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले खुट्टामा गोली प्रहार गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–४ का ३४ वर्षीय कर्मा तामाङ, काभ्रेको धुलिखेल नगरपालिका–१० का ३० वर्षीय प्रतिमान गोले, पनौती नगरपालिका–९ का ३० वर्षीय पासाङ घिसिङ, भुम्लु गाउँपालिका–९ का ३६ वर्षीय मनोज तामाङ र कास्की सराङकोटका २९ वर्षीय आले गुरुङलाई पक्राउ गरिएको जानकारी दिएको हो।

परिसरका प्रमुख एसएसपी दिलिप घिमिरेका अनुसार कर्मालाई बुढानीलकण्ठबाट पक्राउ गरिएको हो भने अन्य चार जनालाई काभ्रेबाट नियन्त्रणमा लिइएको हो।

समूहभित्र जिम्मेवारी नै छुट्टाछुट्टै

प्रहरी अनुसन्धानअनुसार समूहका सदस्यले छुट्टाछुट्टै जिम्मेवारी सम्हाल्ने गरेका थिए। मुख्य नाइके कर्मा तामाङले योजना बनाउने र टोली परिचालन गर्ने, प्रतिमान गोलेले मोटरसाइकल चलाएर घटनास्थलबाट फरार गराउने, पासाङ घिसिङले चोरीका मोटरसाइकल उपलब्ध गराउने, आले गुरुङले घटनास्थल वरपर सुरक्षा दिँदै आवश्यक परे सहयोग गर्ने तथा मनोज तामाङले लुटेर ल्याइएका सुनका गरगहना गलाएर बिक्री गर्ने गरेको प्रहरीले जनाएको छ।

अधिकांश सदस्य पुराना अपराधी

प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस) अनुसार मुख्य अभियुक्त कर्मा तामाङविरुद्ध डाँका चोरी तथा चोरीका गरी नौ वटा मुद्दा दर्ता छन्। उनी यसअघि डाँका चोरी मुद्दामा पक्राउ परेर हिरासतमा रहेका बेला फरार भएका थिए।

प्रतिमान गोले यसअघि डाँका चोरी मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्। उता पासाङ घिसिङले लुटपाटका लागि प्रयोग हुने करिब २० वटा मोटरसाइकल चोरी गरेको प्रहरीको दाबी छ।

पक्राउ गर्दा गोली चल्यो

प्रहरीका अनुसार शनिबार राति बुढानीलकण्ठको चुनिखेल क्षेत्रमा कर्माको उपस्थितिबारे सूचना पाएपछि विशेष टोली परिचालन गरिएको थियो।

नियन्त्रणमा लिने क्रममा उनले खुकुरी निकालेर प्रहरीमाथि आक्रमणको प्रयास गर्दै मोटरसाइकलमा भाग्न खोजेको दाबी प्रहरीले गरेको छ। त्यसपछि प्रहरीले दुई राउन्ड हवाई फायर गरेको र त्यसपछि पनि नरोकेपछि खुट्टामा एक राउन्ड गोली प्रहार गरी पक्राउ गरिएको जनाएको छ।

घाइते कर्माको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

बरामद भए खुकुरी, मास्टर की र नम्बर प्लेट

घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एक थान खुकुरी, पाँच वटा नम्बर प्लेट, टी–लक, मास्टर की लगायतका सामग्री बरामद गरेको छ।

अनुसन्धानका क्रममा चोरी गरिएका मोटरसाइकलको नम्बर प्लेट परिवर्तन गरी लुटपाटमा प्रयोग गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

‘बाटो सोध्ने’ बहानामा लुटपाट

प्रहरीका अनुसार यो समूहले बाटो सोध्ने बहाना बनाएर सर्वसाधारण नजिक पुग्ने र अचानक गलाको सुनको सिक्री वा अन्य गरगहना थुतेर मोटरसाइकलमार्फत फरार हुने गरेको थियो।

धापासी, शान्तिनगर, जडीबुटी, बनेपालगायत स्थानमा भएका श्रृंखलाबद्ध लुटपाट घटनामा पनि यही समूहको संलग्नता रहेको प्रहरीको दाबी छ। विशेषगरी वृद्ध महिला तथा एक्लै हिँडिरहेका व्यक्तिलाई लक्ष्य बनाएर लुटपाट गर्ने र प्रतिकार गर्ने पीडितमाथि कुटपिट तथा लछारपछारसमेत गर्ने गरेको अनुसन्धानबाट खुलेको छ।

प्रहरीले समूहसँग सम्बन्धित अन्य लुटपाटका घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय