काभ्रे । स्थानीय तहको निर्वाचनमा पार्टीले पाउने संख्यामा कुरो नमिलेपछि सत्तारुढ दलहरुले प्रदेशस्थित संयन्त्रमा पठाउने निर्णय गरेका छन् । ४ पटक बसेको गठबन्धनको बैठकले स्थानीय तहको संख्या टुंगो लाग्न नसकेपछि आइतबार बसेको गठबन्धनका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको पाँचौ बैठकले प्रदेशलाई जिम्मा दिने निर्णय गरेको हो ।

‘सबैको आफ्नो आफ्नो दाबी रह्यो, संख्या टुंगो लाग्न नसकेपछि प्रदेशलाई जिम्मा दिने निर्णय भएको छ,’ कांग्रेस जिल्ला सचिव गुणराज मोक्तानले भने, ‘स्थानीय तहबारे प्रदेश तहबाट टुंगो लागेपछि वडाका बारेमा छलफल गर्छौं ।’ मोक्तानका अनुसार, जिल्लाका १३ स्थानीय तहमध्ये ९ वटामा कांग्रेस, ६ वटामा माओवादी केन्द्र, ४ वटामा एकीकृत समाजवादी र १ स्थानीय तह प्रमुखमा जनता समाजवादी पार्टीको दाबी छ ।

माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालले छलफलकै क्रममा रहेको भन्दै स्थानीय तहका बारेमा टुंगो लगाउने जिम्मा प्रदेशलाई दिएको बताए । एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव दिपक गौतमले कांग्रेसले १३ मध्ये ८ स्थानीय तह आफ्नो हुनुपर्ने अडान राखेपछि कुरा नमिलेको बताए । जनता समाजवादी पार्टी काभ्रेका अध्यक्ष कृष्ण भण्डारीले संख्याकै विषयमा कुरा नमिलेको बताए ।

गठबन्धन गर्ने केन्द्रीय सहमतिपछि दलहरुले उम्मेदवार टुंग्याउनसमेत सकेका छैनन् । ३२ वटा वडामा अध्यक्ष पदका उम्मेदवार सर्वसम्मत सिफारिस गरेको कांग्रेसले टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले केही वडामा सिफारिस गरे पनि टुंगो लागिसकेको छैन ।

गठबन्धनको निर्णयको आधारमा अघि बढ्ने रणनीतिमा रहेको एमालेले चैत २६ गतेसम्म उम्मेदवार टुंग्याउने भने पनि भएको छैन । चौरीदेउराली गाउँपालिकामा अध्यक्ष पदमा जिताराम लामा र उपाध्यक्षमा बविता खरेल र ४२ वडाध्यक्षको उम्मेदवार टुंग्याएको एमालेले सर्वसम्मतिका लागि समय लागेको जिल्ला सचिव राजन भुर्तेलले बताए।

२०७४ सालको स्थानीय निर्वाचनमा १३ मध्ये ७ स्थानीय तहमा एमाले, ४ मा कांग्रेस र २ स्थानीय तहमा माओवादी केन्द्र विजयी भएका थिए । फुटपछि मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, नमोबुद्ध नगर उपप्रमुख रामदेवी तामाङ र भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ एकीकृत समाजवादीमा छन् ।

एमाले फुट र दल अदलबदलपछि हाल कांग्रेसका ५२, एमालेका ४९, माओवादी केन्द्रका २२, एकीकृत समाजवादीका ११, राप्रपाबाट निर्वाचित १ वडाअध्यक्ष छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय