काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उपयुक्त समय मिलाएर भारत भ्रमण गर्ने बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पहिलो पटक भारतीय राजदूत नवीन श्रीवास्तवलाई शाहले भारत भ्रमण गर्ने जानकारी दिएका हुन्।

राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देशसँगै भारत भ्रमणका लागि निमन्त्रणा पत्र हस्तान्तरण गरेका थिए।

चैतमा नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेलगत्तै शाहलाई मोदीले पठाएको सन्देश र निम्तो प्रधानमन्त्रीसँग भेट्न नपाएपछि राजदूतले हस्तान्तरण गर्ने मौका पाएकै थिएनन्। पछि मोदीको निमन्त्रणा लिएर भारतका विदेश सचिव विक्रम मिश्री नेपाल आउने तयारी भए पनि प्रधानमन्त्री शाहले भेटका लागि समय नछुट्टयाएपछि स्थगित भएको थियो। यद्यपि यसबारे डिजिटल माध्यमबाट प्रधानमन्त्री शाहलाई जानकारी दिइएको थियो।

जब राजदूतले सोमबार यो मौका पाए, त्यो सन्देश र निम्तो औपचारिक रुपमा हस्तान्तरण गरे। भेटमा सहभागी प्रधानमन्त्रीको सचिवालयका एक सदस्यका अनुसार राजदूत श्रीवास्तवले मोदीको सन्देश र निमन्त्रणापत्रसँगै प्रधानमन्त्री शाहलाई भारत भ्रमण गर्न आग्रह गरेका थिए।

जवाफमा प्रधानमन्त्री शाहको भनाइ उद्धृत गर्दै ती सदस्यले भने, ‘निमन्त्रणाका लागि धन्यवाद, म समय मिलाएर चाँडै भारत भ्रमण गर्नेछु।’

यसअघि राजदूतहरूसँग एक्लै नभेट्ने भन्दै सामूहिक भेटघाट गरेका शाहले प्रधानमन्त्री भएको साढे चार महिनापछि पहिलो पटक आज एकै दिन भारतीय र चिनियाँ राजदूतसँग भेट गरेका हुन्।

बाहिर प्रधानमन्त्री शाह र राजदूतबीच एक्लाएक्लै भेट भएको चर्चा भए पनि दुवै भेटमा प्रधानमन्त्रीसँग नेपालको टिम नै सहभागी थियो।

प्रधानमन्त्री शाहसँग उनका प्रमुख स्वकीय सचिव सुवास शर्मा र आईटी सल्लाहकार विवेक मिश्र तथा परराष्ट्र मन्त्रालयको भारत डेस्कका प्रमुख सहसचविसहित दुई जना थिए। राजदूत श्रीवास्तवसँग डेपुटी चिफ अफ मिसन र राजनीतिक अधिकारी संलग्न थिए।

बालेन प्रधानमन्त्री बनेपछि भारतीय अधिकारीसँग भएको यो नै पहिलो औपचारिक भेट हो, जुन करिब आधा घण्टामै टुंगिएको थियो।

औपचारिक निम्तो पाएपछि के अब प्रधानमन्त्री भारत भ्रमणमा जान्छन् त?

‘आज बल्ल प्रधानमन्त्रीले भ्रमणको निम्तो पाउनु भएको छ,’ प्रधानमन्त्रीको टिमका एक प्रभावशाली सदस्य भन्छन्, ‘भ्रमण गर्नुपर्छ भन्ने छ, अब कहिले गर्ने प्रधानमन्त्रीमै निर्भर गर्छ।’

प्रधानमन्त्री शाहले कोही पनि भारतीय अधिकारीसँग भेट नगरेकाले उनको भ्रमणबारे प्रश्न उठिरहेका बेला असार दोस्रो हप्ता प्रमुख सल्लाहकार कुमार बेनले दिल्ली पुगेर भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र उनको टिमसँग भेटवार्ता गरेका थिए। प्रधानमन्त्री शाहको भारत भ्रमण गराउने कसरत अन्तर्गत बेन दिल्ली पुगेका थिए। दिल्ली जानुअघि र फर्केपछि बेनले नै भारतीय राजदूत श्रीवास्तवसँग छलफल गरेका थिए।

बेनअघि परराष्ट्रमन्त्री शिशिर खनाल र रास्वपा सभापति रवि लामिछानेले भारत भ्रमण गरेका थिए।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय