काभ्रे । काभ्रेको खानीखोला गाउँपालिकाको जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बा १८ च २४२ नम्बरको बोलेरो गाडी स्याउरेथलीमा दुर्घटना भएको छ।
प्रारम्भिक जानकारीअनुसार दुर्घटनाको समयमा गाडीमा ८ जना सवार रहेका थिए। दुर्घटनामा दुई जनाको मृत्यु भएको र एक जना घाइते भएको जनाइएको छ। अन्य यात्रुहरू सामान्य अवस्थामा रहेको बताइएको छ।


घाइतेको अवस्था गम्भीर रहेकाले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लैजानुपर्ने अवस्था रहेको भन्दै खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले हेलिकप्टरमार्फत उद्धारका लागि सरकारसमक्ष अनुरोध गरेका छन्।
अध्यक्ष थिङले दुर्घटनामा घाइते भएकाहरूको उद्धार तथा उपचारमा सबै पक्षले सहयोग गर्न आग्रह गरेका छन्।
दुर्घटनाको विस्तृत विवरण, मृतक तथा घाइतेको पहिचान र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी रहेको छ।










