काभ्रे । काभ्रेको खानीखोला गाउँपालिका–१ स्याउरीथलीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

जगथलीबाट पनौतीतर्फ आउँदै गरेको बा १८ च २४२ नम्बरको बोलेरो जीप स्याउरीथलीमा दुर्घटनामा परेको हो। प्रारम्भिक विवरणअनुसार दुर्घटनाका बेला जीपमा ८ जना सवार रहेका थिए।

दुर्घटनामा खानीखोला गाउँपालिका–४ का कमलबहादुर माझी र खानीखोला–२ की अनिता मोक्तानको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अनिता मोक्तानको माइतीघर बनेपा–साँगा रहेको बताइएको छ।

दुर्घटनामा घाइते हुनेहरूमा बनेपा–साँगाका रावल तामाङ, खानीखोला–३ का प्रदीप जर्गामगर, खानीखोला–५ डुम्रेका बौद्ध लामा र सिन्धुपाल्चोकको सुकुटे–साँगाचोकका धनपति रावल रहेका छन्। धनपति रावलको अवस्था केही गम्भीर रहेको जनाइएको छ।

घाइतेहरूको उद्धार तथा उपचारका लागि आवश्यक पहल भइरहेको छ। यसअघि खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले घाइतेहरूको उद्धारका लागि हेलिकप्टरको व्यवस्था गर्न सरकारसमक्ष अनुरोध गरेका थिए।

दुर्घटनामा दुई जनाको मृत्यु र चार जना घाइते भएको विवरण खानीखोला गाउँपालिका–१ का वडा अध्यक्ष सन्तमान थिङलाई उद्धृत गर्दै प्राप्त भएको हो।

दुर्घटनाको कारण तथा घाइतेहरूको पछिल्लो अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय