काभ्रे । महाभारत गाउँपालिका–२ सिम्ले निवासी काइला योञ्जनका २९ वर्षीय छोरा रमेश योञ्जन सिन्धुलीमा मृत अवस्थामा फेला परेका छन्।

प्राप्त जानकारीअनुसार रमेश आफ्नी श्रीमतीलाई लिन केही दिनअघि सिन्धुलीस्थित ससुराली पुगेका थिए। उनकी श्रीमती विदेशबाट फर्किएको करिब ९ दिन भइसके पनि घर नआएपछि उनी श्रीमतीलाई लिन सिन्धुली गएको बताइएको छ।

रमेश साउन २२ गते श्रीमतीलाई लिन सिन्धुली गएको र २४ गते त्यहाँबाट घर फर्किएको भनाइ छ। तर, त्यसपछि उनी सिन्धुलीको जंगलमा झुण्डिएको अवस्थामा मृत फेला परेको बताइएको छ। उनको शव ३१ गते मात्र फेला परेको हो।

परिवारका अनुसार रमेश र उनकी श्रीमतीबीच विदेशबाट श्रीमती फर्कनुभन्दा करिब तीन महिनाअघिदेखि नै राम्रोसँग बोलचाल नभएको भनाइ छ। उनीहरूका करिब ११ वर्षीय छोरा रहेको पनि परिवारले जनाएको छ।

घटनापछि मृतकका आफन्तहरू सिन्धुली जिल्ला प्रशासन कार्यालय पुगेका थिए। मृतकका आफन्तको रोहबरमा पोस्टमार्टमका लागि शव काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याउने तयारी गरिएको जनाइएको छ। शव बेलुका ७ बजेसम्म शिक्षण अस्पतालमा ल्याइने र पोस्टमार्टमपछि दाहसंस्कार गरिने बताइएको छ।

घटनाको अनुसन्धानका क्रममा मृतककी श्रीमती, जेठानलगायतलाई पोस्टमार्टम रिपोर्ट नआएसम्म सिन्धुली जिल्ला प्रशासन कार्यालयमै राखिने जानकारी दिइएको छ।

घटनाको प्रकृति र परिस्थितिबारे विभिन्न प्रश्न उठिरहेका बेला मृतकका आफन्तले घटनाको सत्यतथ्य पत्ता लगाउन निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेका छन्।

आफन्तहरूले महाभारत गाउँपालिका सरकार, जिल्ला प्रशासन तथा सम्बन्धित सुरक्षा निकायलाई घटनाको वास्तविक कारण पत्ता लगाई सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेका छन्।

घटनाबारे पोस्टमार्टम रिपोर्ट तथा प्रहरी अनुसन्धानबाट प्राप्त तथ्यपछि मात्रै मृत्युको वास्तविक कारणबारे थप स्पष्ट हुने देखिन्छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय