काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् ।
सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने बताएका हुन् । उनले संचारमाध्यममा निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको बताए । प्रमुख प्रतिपक्ष दल एमालेले सत्तारुढ गठबन्धन निर्वाचन सार्ने षडयन्त्रमा लागि परेको आशंका गरिरहेको बेला अध्यक्ष दाहालले सत्तारुढ गठबन्धन भित्र निर्वाचन सार्ने कुनै मनसाय नरहेको प्रष्टयाएका छन् ।
उनले भने, ‘आम मतदातालाई अपील गर्न चाहन्छु, निर्वाचन वैशाख ३० गते नै हुन्छ । त्यसको तयारीमा आ आफ्नो ठाउँबाट सहयोग गर्न योगदान गर्न सबैसँग आग्रह गर्दछु।’ प्रचण्डले गठबन्धनका दलहरुबीच साझा सहमति नजुटे मिल्ने दलहरुबीच गठबन्धन हुने बताए । प्रचण्डले पार्टीले भरतपुर महानगर नभई हुन्न नभनेको बताए ।
६ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने उनले बताए । उनले भने, ‘भरतपुर नभई भएन भनेको छैन। रेनु नभई भएन भन्ने अडान होइन । ६ वटा महानगरमा एउटा माओवादीलाई पर्ला। काठमाडौं वा विराटनगर भए पनि हुन्छ।’