जनकपुरधाम । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्याका मुख्य आरोपीसँग सोधपुछ गरिएको एउटा भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरसहितका प्रहरी अधिकारी कारबाहीको राडारमा परेका छन् ।

हातमा हतकडी लगाइएका १६ वर्षीय आरोपीसँग अस्पतालमा गरिएको सोधपुछको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ दसधुरीकी ३ वर्षीया गरिमाको हत्या गरेको आरोपीले स्वीकार गरेका छन् । प्रदीप खड्का नाम गरेका साथीसँग मिलेर आफूले यो दुष्कर्म गरेको उनको भनाइ छ । भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयले घटनाबारे चासो देखाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी कुँवर र डीएसपी मीनबहादुर घलेसँग समेत सोधपुछ थालिएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार संवेदनशील आपराधिक घटनाको अनुसन्धानका क्रममा तयार भएका अडिओ-भिडिओ कसरी सामाजिक सञ्जालसम्म पुगे भन्ने विषयमा साइबर ब्युरोले डिजिटल ट्रेक अनुसन्धान गरिरहेको छ । भाइरल भिडियोमा हातमा हतकडी लगाइएका किशोरसँगै दुई जना प्रहरी देखिएका छन् । अस्पतालमा स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकले प्रश्न गरिरहेको अवस्थामा भिडिओ बनाइएको दावी गरिएको छ ।

भिडिओमा देखिएका सबै दृश्य र त्यसको वास्तविकताबारे प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन । प्रहरीको संवेदनशील अनुसन्धानसँग सम्बन्धित अडिओ–भिडिओ अनधिकृत रूपमा सार्वजनिक हुनु प्रहरीको आन्तरिक प्रोटोकल र अनुसन्धानको गोपनीयतासँग जोडिएको विषय हो ।

भिडिओ सार्वजनिक गर्ने व्यक्ति मात्र नभई निजलाई भिडिओ कसले उपलब्ध गरायो भन्ने श्रृंखलासमेत पत्ता लगाउने गरी अनुसन्धान अघि बढाइएको स्रोतको दाबी छ । प्रहरी प्रधान कार्यालय र मधेश प्रदेश प्रहरी कार्यालयबाट समेत घटनाबारे छुट्टाछुट्टै रूपमा बुझ्ने काम भइरहेको स्रोतले बतायो ।

भिडिओ सार्वजनिक हुनुमा प्रहरीभित्रकै कसैको संलग्नता छ वा छैन भन्ने पनि छानबिन भइरहेको स्रोतको भनाइ छ । यस विषयमा प्रतिक्रिया लिन जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी नरेन्द्र कुँवरसँग सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय