काठमाडौँ । रसुवा र नुवाकोट लगायतका क्षेत्रमा आएको भीषण बाढीका कारण नेपाल टेलिकमको सञ्चार पूर्वाधारमा क्षति पुग्दा ती क्षेत्रको टेलिफोन तथा इन्टरनेट सेवा प्रभावित भएको छ। बाढीले टेलिकमका सातवटा टावर र अप्टिकल फाइबरमा क्षति पुर्‍याएको हो।

नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेका अनुसार प्रारम्भिक विवरण प्राप्त भएअनुसार रसुवामा दुईवटा र नुवाकोटमा पाँचवटा टावरमा भौतिक क्षति पुगेको छ। टावरमा पुगेको क्षतिसँगै विद्युत अवरुद्ध भएका कारण पनि धेरैजसो ठाउँमा नेटवर्कको समस्या देखिएको हो।

बाढीले टावरहरू मात्र नभई गल्छीदेखि रसुवागढीसम्मको अप्टिकल फाइबरमा पनि क्षति पुर्‍याएको छ। प्रवक्ता लामिछानेले भने, ‘केही टावरहरूमा भौतिक क्षति पुगेको छ भने गल्छीबाट रसुवागढी तर्फको फाइबरमा पनि समस्या आएको छ। क्षतिको पूर्ण विवरण भने अझै संकलन हुने क्रममा छ।’

सञ्चार सेवा पूर्ण रूपमा ठप्प हुन नदिन टेलिकमले वैकल्पिक प्रविधिको प्रयोग गरिरहेको जानकारी दिएको छ। हाल त्रिशुलीसम्म फाइबर सेवा सुचारु रहेको र सोभन्दा माथिल्लो क्षेत्रमा माइक्रोवेभ रेडियो प्रविधिमार्फत नेटवर्क सुचारु राख्ने प्रयास भइरहेको छ। विद्युत आपूर्ति बन्द भएका कारण केही साइटहरू चल्न नसकेको भए पनि तिनलाई पुनः सञ्चालनमा ल्याउन प्राविधिक टिमले काम गरिरहेको छ।

टेलिकमको मर्मत सम्भार तथा आकस्मिक व्यवस्थापन टिम अहिले कार्यक्षेत्रमै खटिएको छ। प्रवक्ता लामिछानेले भने, ‘हाम्रो टिमले समानान्तर रूपमा काम गरिरहेको छ। जोखिमका बावजुद जतिसक्दो छिटो सेवा रिस्टोर गर्ने हाम्रो प्राथमिकता हो।’

त्यसै गरी, टेलिकमले विपद् व्यवस्थापन विभागसँग समन्वय गरी बाढी प्रभावित तथा जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई बिहानैदेखि सचेतनामूलक ‘एलर्ट’ एसएमएसपठाएर सुरक्षित रहन आग्रह समेत गरिरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय