काठमाडौं । चीनको तिब्बततर्फबाट आएको भीषण बाढीका कारण रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि NPO 法人 नेपाल तामाङ समाज जापानले बाढीपीडितको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि पहिलो चरणमा ६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

नेपाल तामाङ समाज जापानले उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग गरेको हो। समाजका प्रवक्ता बलराम थिङ तामाङले सहयोगबारे जानकारी दिएका हुन्।

समाजले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत चीनको तिब्बततर्फबाट आएको भीषण बाढीले रसुवाको भोटेकोशी नदी आसपासमा ठूलो जनधनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गरेको छ। बाढीका कारण रसुवासहित धादिङ, गोरखा, चितवनलगायत नदी तटीय क्षेत्रमा समेत क्षति तथा जोखिम बढेको समाजले जनाएको छ।

प्रवक्ता थिङका अनुसार विपद्को यस कठिन परिस्थितिमा पीडित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले पहिलो चरणमा ६ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराइएको हो। आगामी दिनमा आवश्यकताअनुसार सहयोग र सहकार्यलाई निरन्तरता दिने समाजको प्रतिबद्धता रहेको उनले बताए।

समाजले बाढीपहिरो तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ। साथै घाइते तथा प्रभावित नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

सांस्कृतिक कार्यक्रमसमेत स्थगित

बाढीबाट उत्पन्न विपत्तिको अवस्थालाई मध्यनजर गर्दै नेपाल तामाङ समाज जापानले टोकियोमा आयोजना गर्ने भनिएको ‘डुम्स्याले हेन्देमाया तथा सांस्कृतिक साँझ–२०२६’ कार्यक्रमसमेत स्थगित गर्ने निर्णय गरेको छ।

विपत्तिका बेला मनोरञ्जनात्मक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्नु उपयुक्त नहुने ठहर गर्दै कार्यक्रम स्थगित गरिएको समाजले जनाएको छ।

देश–विदेशका नेपालीलाई सहयोग गर्न अपिल

नेपाल तामाङ समाज जापानले विपद्को यस कठिन घडीमा पीडित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि संघ, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा निकाय, राजनीतिक दल, नागरिक समाज, विभिन्न संघसंस्था तथा देश–विदेशमा रहेका नेपालीहरूलाई आ–आफ्नो स्थानबाट सक्दो सहयोग गर्न अपिल गरेको छ।

प्रवक्ता थिङले प्राकृतिक विपत्तिको सामना गरिरहेका नागरिकलाई साथ दिन सबै नेपाली एकजुट हुनुपर्नेमा जोड दिए। उनले मानवीय भावनाका साथ पीडित तथा प्रभावित परिवारको सहयोगमा जुट्न सबैमा आग्रहसमेत गरेका छन्।

समाजका अनुसार जापानबाट पठाइएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्राप्त हुने गरी सहयोग गरिएको हो। प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले गरिएको उक्त आर्थिक सहयोगलाई समाजले आफ्नो मानवीय दायित्वका रूपमा लिएको जनाएको छ।

नेपाल तामाङ समाज जापानका अध्यक्ष गिरबहादुर तामाङ घिसिङ, महासचिव देवेन्द्र तामाङ योञ्जन तथा प्रवक्ता बलराम थिङ तामाङलगायत केन्द्रीय कार्यसमितिले विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाउँदै सहयोग र सहकार्यका लागि सबैमा आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय