काठमाडौँ । बाढी पहिरोका कारण देशको मुख्य लाइफलाइन सडक नागढुंगा मुग्लिन सडक खण्ड अवरुद्ध भई काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको चरम अभाव हुने जोखिम बढेपछि भोलि (बिहीबार) देखि दैनिक २ सय वटा ट्रकमार्फत ग्यास ओसारिने भएको छ । ग्यासका ठुला बुलेटहरू काठमाडौँ भित्रिन नसकेपछि वैकल्पिक उपाय स्वरूप खाली सिलिन्डर तराई पठाएर भरेर ल्याउन लागिएको हो ।

नेपाल एलपी ग्यास उद्योग सङ्घ, नेपाल आयल निगम र यातायात व्यवसायीबिच भएको सहमति अनुसार उपत्यकाको ग्यास आपूर्तिलाई सामान्य बनाउन भोलिदेखि पूर्ण क्षमतामा ट्रकहरू परिचालन गर्न लागिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक खण्ड बन्द हुँदा उपत्यका, काभ्रे र धादिङका १८ वटा ग्यास उद्योगमा बुलेट पुग्न सकेका छैनन् । त्यसैले उपत्यकाका खाली सिलिन्डर ट्रकमा लोड गरी हेटौँडा, चितवन, नवलपरासी र वीरगन्जका उद्योगहरूमा रिफिलिङ (ग्यास भर्ने) का लागि पठाउने प्रबन्ध मिलाइएको छ ।

नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार भोलिदेखि दैनिक करिब २०० वटा ट्रक ग्यास ओसार्नका लागि सडकमा उत्रिनेछन् । ‘काठमाडौँको माग धान्न दैनिक १०० वटा ट्रकले खाली सिलिन्डर तराईतर्फ लैजाने र १०० वटा ट्रकले भरिएका सिलिन्डर उपत्यका भित्र्याउने गरी हामीले भोलिदेखि ढुवानीलाई तीव्रता दिँदैछौँ,’ अध्यक्ष चन्दले भने ।

सुरुवाती चरणमा आजदेखि नै केही ट्रकहरूले सिलिन्डर ओसार्न थालिसकेका छन् भने भोलिदेखि यो सङ्ख्या बढाएर २ सय पुर्‍याइने सङ्घले जनाएको छ ।

त्यस्तै, बुलेट चालकहरूको स्थलगत अध्ययनले कान्ति लोकपथ र त्रिभुवन राजपथ (पुरानो बाटो) साँघुरो र जोखिमयुक्त भएकाले ग्यासका ठुला बुलेट ल्याउन असम्भव रहेको निष्कर्ष निकालेको थियो । त्यसैले बुलेटलाई तराईमै अनलोड गराएर १५ टन क्षमताका साना तथा मझौला ट्रकहरूबाट ग्यास ओसार्न लागिएको हो ।

स्थानीय प्रशासन, सडक डिभिजन र सुरक्षा निकायले ती वैकल्पिक सडकहरूमा ग्यास बोकेका ट्रकहरूलाई निर्बाध आवागमन गर्न विशेष सहजीकरण गर्ने सहमति जनाएका छन् ।

ढुवानीमा हुनसक्ने कालोबजारी र मनपरी भाडा असुलीलाई रोक्न सरकार र व्यवसायीले निश्चित भाडादर समेत तय गरिसकेका छन्। हेटौँडालाई आधार मानेर काठमाडौँसम्मको दुईतर्फी (खाली सिलिन्डर लैजाने र भरेर ल्याउने) भाडा १२ चक्के ट्रकका लागि ८० हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी दूरीअनुसार चितवनबाट ९३ हजार, वीरगन्ज/कलैयाबाट ९५ हजार र नवलपुरबाट ९८ हजार रुपैयाँ भाडा निर्धारण गरिएको छ। यसले गर्दा बजारमा कृत्रिम अभाव र मूल्यवृद्धि नियन्त्रण हुने विश्वास लिइएको छ।

घरायसी उपभोक्तालाई पहिलो प्राथमिकता

नेपाल आयल निगमले यस्तो विपत्तिको अवस्थामा सर्वसाधारणको भान्सालाई पहिलो प्राथमिकतामा राखेको जनाएको छ। भोलिदेखि ट्रकबाट आउने ग्यास मुख्य गरी घरायसी उपभोक्तालाई वितरण गरिनेछ । होटल, रेस्टुरेन्ट जस्ता व्यावसायिक उपभोक्ताले भने तत्कालका लागि तराईमा रिफिलिङ भइरहेका सम्बन्धित प्लान्टहरूबाट आफ्नै खर्चमा ढुवानी गरेर ग्यास ल्याउनुपर्ने व्यवस्था गरिएको छ।

‘दोहोरो ढुवानी खर्च लागे पनि हामी उपत्यकावासीको चुलो निभ्न दिने छैनौँ,’ अध्यक्ष चन्दले भने। भोलिदेखि २ सय ट्रक पूर्ण रूपमा परिचालन भएपछि बजारमा ग्यास नपाइने त्रास र हाहाकार धेरै हदसम्म कम हुने उद्योगीको दाबी छ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय