महाभारत, काभ्रे । काभ्रे महाभारत गाउँपालिका प्रमुखले आफूले चढदै आएको सरकारी गाडी फिर्ता गरेको छ। गाउँपालिका प्रमुख कान्छालाल जिम्बा (संसार)ले आफूले प्रयोग गर्दै आएको बोलेरो गाडी फिर्ता गरेका हुन्। सेता नम्बर प्लेटका बा २ झ ३७८६ नम्बरको गाडीको फिर्ता गरेका हुन्।
उनले गाडीको चावी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुजन लामिछानेलाई हस्तान्तरण गरेका हुन्। आफूले निर्वाचन स्वच्छ र मर्यादित बनाउन गाडी फिर्ता गरेका प्रमुख जिम्बाले बताए।
निर्वाचनका बेला सरकारी गाडीलाई दुरुपयोग हुनबाट बचाउँन आफूले यस्तो कदम चालेको उनले बताए। पार्टीले टिकट दिए फेरी चुनाव लड्ने सोच बनाएका उनले अब आफूले निजी सवारी साधान प्रयोग गर्ने बताए।
‘महाभारत गाउँपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट अध्यक्षमा उठ्ने तयारी रहेकोले स्वच्छ निर्वाचनको मर्म र भावनालाइ कदर गर्दै सरकारी गाडी प्रयोग नगर्ने अठोट गरेको छु,’ उनले भने, ‘गाडीको चावी प्रमुख प्रशासकीय अधिकृत समक्ष हस्तान्तरण गरिएको जानकारी गराउन चाहन्छु ।’
जनताको विकासप्रतिको चाहना अझै पूरा गर्न बाँकी रहेकोले आफूले दोहोर्याउन लागेको जिम्बाको भनाइ छ ।