रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नेपाल–चीन सीमा क्षेत्रमा ठुलो क्षति पुर्याएको क्षेत्रमा नेपालको राष्ट्रिय झण्डा पुनः स्थापना गरिएको छ ।
बाढीले सीमा क्षेत्रका भौतिक संरचनाका साथै सीमा स्तम्भहरूसमेत बगाएपछि उक्त स्थानमा झण्डा पुनर्स्थापना गरिएको हो ।


पछिल्लो तीन दिनदेखि जारी निरन्तरको प्रयास र समन्वयपछि सशस्त्र प्रहरी बल, नेपाल र नेपाली सेनाको टोलीले नेपाली सीमा क्षेत्रमा राष्ट्रिय झण्डा फहराउन सफल भएको छ । भोटेकोशीको बहाव अझै नघटेको र नदीले कटान गर्ने क्रम जारी रहेकाले सीमा पहिचान गर्न र झण्डा गाड्न सुरक्षाकर्मीहरूलाई निकै कठिनाइ भएको थियो ।
बाढीका कारण भौगोलिक स्वरूपमा समेत परिवर्तन आएको र जमिन भासिने जोखिम कायम रहेको अवस्थामा पनि राष्ट्रियताको प्रतीक झण्डालाई उच्च प्राथमिकता दिँदै सुरक्षाकर्मीले जोखिमपूर्ण कार्य सम्पन्न गरेका हुन् ।
बाढीले सीमा स्तम्भहरू बगाउँदा सीमा पहिचानमा अन्योल सिर्जना भए पनि सुरक्षा निकायको प्राविधिक र स्थलगत समन्वयमा सही स्थान पहिचान गरी झण्डा राखिएको हो ।
बाढीले सीमा क्षेत्रको सडक र अन्य संरचनामा समेत क्षति पुर्याएको छ । हाल उक्त क्षेत्रमा सुरक्षाकर्मीहरूले सीमा सुरक्षाका साथै बाढीले पुर्याएको क्षतिको थप विवरण संकलन गरिरहेका छन् ।










