काभ्रे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले नेकपा एमालेसँग तत्काल पार्टी एकता हुने र पद बाँडफाँट गरिने भन्ने हल्लाहरू निराधार रहेको स्पष्ट पारेका छन्।
शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले हल्लामा कुनै सत्यता नभएको दाबी गरेका हुन् ।


भविष्यमा एमालेसँग एकता हुन सक्ने सम्भावनाबारे भने नेतृत्व तहमा प्रारम्भिक छलफल भइरहेको पुनले जानकारी दिए। एमालेसँग प्रदेश सरकारहरूमा सहकार्य भइसकेको उल्लेख गर्दै उनले संविधान र लोकतन्त्रको रक्षा तथा वैदेशिक हस्तक्षेपको प्रतिवाद गर्न वाम शक्तिहरू र आवश्यक परे नेपाली कांग्रेससँग पनि सहकार्य जारी रहने बताए। एमालेभित्रको आन्तरिक बहस नटुङ्गिँदासम्म तत्कालै पार्टी एकता सम्भव नरहेको धारणा उनले राखे।
नेता पुनले संविधान निर्माणमा कुनै त्याग, बलिदान वा भूमिका नरहेका शक्तिहरू अहिले सरकारमा पुगेको टिप्पणी गरे। उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संविधानबारे आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्नुपर्ने माग गरे। सरकारप्रति जनताका अपेक्षाहरू धेरै भए पनि सोहीअनुसार नतिजा आउन नसक्दा आम नागरिकमा आक्रोश बढेको उनले बताए।
राजदूत नियुक्ति प्रक्रियामा सरकारले दोहोरो चरित्र देखाएको आरोप पनि पुनले लगाए। पुराना व्यवस्थाका मानिसहरूलाई राजदूतमा सिफारिस गरिएको भन्दै उनले आलोचना गरे। नयाँ भनिएका राजनीतिक दलहरू पुरानालाई शुद्ध पार्ने ‘वासिङ मेसिन’ जस्तो बनेको तर्क उनले गरे।
रसुवामा भएको विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सरकारले उदासीनता देखाएको भन्दै उनले असन्तोष व्यक्त गरे। जनतालाई केवल अरूको आलोचना गरेर मात्र चित्त बुझाउन नसकिने भएकाले नेताहरूले आफ्ना कमी-कमजोरी स्वीकार गर्दै सुध्रिनुपर्ने र गुमेको जनविश्वास पुनः जित्न लाग्नुपर्नेमा उनले जोड दिए।










