काभ्रे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) खानीखोला सम्पर्क समन्वय समितिको तेस्रो कार्यकालका लागि रामकाजी भोलनको नेतृत्वमा २९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ।
बनेपास्थित पार्टी भेन्युमा आयोजित भेलाले भोलनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। समितिको उपाध्यक्षमा लक्ष्मी स्याङतान र पदमबहादुर थिङ, सचिवमा राजन तिमल्सीना, सहसचिवमा तिलकबहादुर स्याङतान र कोषाध्यक्षमा पासाङ थिङ चयन भएका छन्।


समितिको पहिलो कार्यकाल राजन अधिकारीको नेतृत्वमा सञ्चालन भएको थियो भने दोस्रो कार्यकाल बिपिन दाहालको नेतृत्वमा सम्पन्न भएको थियो। पहिलो र दोस्रो कार्यकाल पूरा भएपछि तेस्रो कार्यकालका लागि भोलनलाई नेतृत्वको जिम्मेवारी दिइएको हो।
नेकपाका पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’को प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वऊर्जा राज्यमन्त्री सूर्यमान दोङ ‘लालध्वज’, नेकपा बागमती प्रदेशका सचेतक तथा पूर्वमन्त्री रत्न ढकाललगायत केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा खानीखोला गाउँपालिका र विभिन्न वडा तहका नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो।
भेलामा खानीखोला गाउँपालिकाबाट विभिन्न कारणले बनेपा, पनौती, धुलिखेल, भक्तपुर, काठमाडौंलगायतका शहरी क्षेत्रमा बसोबास गर्दै आएका पार्टीसम्बद्ध नेता तथा कार्यकर्तालाई संगठित गर्दै पार्टी गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
सम्पर्क समन्वय समितिले गाउँबाट शहरमा बसोबास गर्दै आएका नेता–कार्यकर्ताबीच आपसी समन्वय, संगठन विस्तार तथा पार्टीका गतिविधिमा सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि वर्षमान पुन ‘अनन्त’ले पार्टी संगठनलाई थप सुदृढ बनाउन नेता–कार्यकर्ताबीच एकता, समन्वय र सक्रियतालाई प्राथमिकता दिनुपर्ने धारणा राखेको आयोजकले जनाएको छ।
नवनिर्वाचित अध्यक्ष रामकाजी भोलनले आफूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्दै खानीखोलाबाट विभिन्न क्षेत्रमा बसोबास गर्ने नेता तथा कार्यकर्ताबीच निरन्तर समन्वय र सहकार्य कायम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
भेलासँगै खानीखोला सम्पर्क समन्वय समितिको तेस्रो कार्यकाल औपचारिक रूपमा सुरु भएको छ।










