काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन् ।
अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए। चैत २४ गते मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो । गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै मन्त्रिपरिषद्ले पूर्व न्यायाधीशको अध्यक्षतामा छानबिन समिति गठन गरेसँगै निलम्बनमा पर्नु भएको थियो । गभर्नर अधिकारीले वैशाख ४ गते आइतबार सर्वोच्च अदालतमा रिट निवेदन दिएका दिनु भएको थियो । गभर्नर अधिकारीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालले इजलासले सरकारको निर्णय कार्यान्वयन नगर्न र गभर्नरका रूपमा काम गर्न दिन मंगलबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई बोलाएको छ ।
अदालतको आदेशपछि बैंकको काममा फर्किएका गभर्नर अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग व्यक्तिगत रुपमा केही समस्या नरहेको बताए । गभर्नर र अर्थमन्त्री भन्ने व्यक्तिगतभन्दा पनि संस्था भएको भन्दै उनले अहिले विकास भएको घटनाक्रमबाट काममा प्रभाव पर्न नदिन सतर्क रहेको बताए।