महाभारत । काभ्रेको महाभारत गाउँपालिका–६, बनखुचौरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
मृतक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ (साबिक डिकुवा गाविस) निवासी करिब २५ वर्षीया सृजना राई (काली) रहेको आफन्तजनले बताएका छन्।


उनी बनखुचौर स्वास्थ्य चौकीको भवन निर्माणमा खटिएका कामदारहरूका लागि खाना पकाउने काम गर्दै आएकी थिइन्। आफन्तका अनुसार सृजना भदौ ३१ गतेदेखि सम्पर्कविहीन थिइन्।
खोजी गर्ने क्रममा असोज ५ गते साँझ करिब ५ बजे नजिकैको पाखाबाट दुर्गन्ध आएपछि खोजतलास गर्दा उनको शव फेला परेको हो।
आफन्तजनका अनुसार मृतकको हालसम्म नेपाली नागरिकता बनेको थिएन। शवलाई आज पोस्टमार्टमका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ।
मृत्युको कारण भने हालसम्म खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।










