नेपालका ग्रामीण क्षेत्रमा विकासको नाममा गाउँलाई शहरजस्तै बनाउने प्रवृत्ति बढ्दै गएको छ। सडक विस्तार, ढलान र कङ्क्रिटका संरचना थपिँदै जाँदा कतिपय गाउँमा हरियाली, मौलिकता र प्राकृतिक सौन्दर्य भने क्रमशः हराउँदै गएको देखिन्छ।
तर विकासको अर्थ गाउँलाई शहरको नक्कल बनाउनु मात्र होइन। गाउँको मौलिक पहिचान, प्राकृतिक स्रोत, स्थानीय संस्कृति र आधुनिक प्रविधिलाई एकसाथ जोडेर आफ्नै विशेषतामा आधारित विकास गर्नु आवश्यक छ।


यही सोचका साथ काभ्रेको खानीखोला गाउँपालिका–३ ताल्ढुङ्गालाई ‘नेचुरल इको–स्मार्ट भिलेज’ का रूपमा विकास गर्ने परिकल्पना अघि सारिएको छ।
अग्राखको काठमा मौलिक घर
खानीखोला क्षेत्र अग्राख अर्थात् सालको काठका लागि परिचित छ। त्यसैले गाउँभरि कङ्क्रिटका घर निर्माण गर्नुको सट्टा स्थानीय रूपमा उपलब्ध काठको दिगो र वैज्ञानिक उपयोग गर्दै कलात्मक, सुरक्षित तथा वातावरणमैत्री घर निर्माण गर्न सकिने अवधारणा अघि सारिएको छ।
काठका घरले गाउँको मौलिक वास्तुकला र पहिचान संरक्षण गर्नुका साथै प्राकृतिक रूपमा तापक्रम सन्तुलनमा समेत सहयोग गर्न सक्छन्। बाहिरबाट परम्परागत स्वरूप देखिए पनि घरभित्र उच्च गतिको इन्टरनेट, सौर्य ऊर्जा, आधुनिक ढल व्यवस्थापन र अन्य आवश्यक प्रविधि उपलब्ध गराउन सकिन्छ।
अर्थात्, बाहिरी स्वरूपमा मौलिक गाउँ र भित्री सुविधामा आधुनिक जीवनशैली—ताल्ढुङ्गा इको–स्मार्ट भिलेजको एउटा आधार बन्न सक्छ।
खानीखोलाको माछालाई स्थानीय ब्राण्ड
ताल्ढुङ्गा नजिकै बग्ने खानीखोलालाई स्थानीय अर्थतन्त्रसँग जोड्ने अर्को महत्वपूर्ण सम्भावनाका रूपमा लिन सकिन्छ।
खोलामा पाइने रैथाने माछाको संरक्षण, प्रजनन र वैज्ञानिक व्यवस्थापन गर्दै ‘खानीखोलाको लोकल माछा’ लाई स्थानीय उत्पादन तथा पर्यटकीय ब्राण्डका रूपमा विकास गर्न सकिन्छ।
यसलाई होमस्टे, होटल, स्थानीय भोजन तथा कृषि उत्पादनसँग जोड्न सके गाउँमा रोजगारी र आयआर्जनका नयाँ अवसर सिर्जना हुन सक्छन्।
माछा उत्पादनदेखि बिक्रीसम्मको मूल्य शृंखला गाउँमै विकास गर्न सकियो भने ‘गाउँको पैसा गाउँमै’ राख्ने अभियानमा समेत यसले योगदान पुर्याउन सक्छ।
‘ताल्ढुङ्गा’ नामसँग जोडिएको प्राकृतिक ताल
‘ताल्ढुङ्गा’ नाम आफैंमा प्राकृतिक पहिचानसँग जोडिएको छ। त्यसैले यहाँको भौगोलिक तथा प्राकृतिक अवस्थाको अध्ययन गरेर वातावरणसँग मेल खाने ताल निर्माण तथा विकास गर्ने परिकल्पना गरिएको छ।
ताललाई व्यवस्थित रूपमा विकास गरी सुरक्षित जलक्रीडा, पौडी तथा मनोरञ्जन क्षेत्र निर्माण गर्न सके आन्तरिक पर्यटक आकर्षित गर्ने सम्भावना बढ्न सक्छ।
तर यस्तो संरचना निर्माण गर्दा पानीको स्रोत, भूगोल, वातावरणीय प्रभाव, जैविक विविधता र सुरक्षा मापदण्डलाई पहिलो प्राथमिकतामा राख्न आवश्यक हुन्छ। प्रकृतिको नाममा प्रकृतिलाई नै क्षति पुर्याउने विकास होइन, प्रकृतिसँग सहअस्तित्व कायम गर्ने विकास ताल्ढुङ्गाको आधार बन्नुपर्छ।
विशाल ढुङ्गाको संरक्षण
ताल्ढुङ्गामा रहेको विशाल तथा ऐतिहासिक महत्व बोकेको ढुङ्गालाई संरक्षण र सौन्दर्यीकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना पनि अवधारणामा समेटिएको छ।
स्थानीय इतिहास, संस्कृति र प्राकृतिक सम्पदासँग जोडिएका यस्ता सम्पदाको संरक्षणले गाउँको मौलिक पहिचानलाई थप बलियो बनाउन सक्छ।
विशाल ढुङ्गालाई केन्द्रमा राखेर पैदलमार्ग, विश्रामस्थल, सूचना केन्द्र तथा स्थानीय संस्कृति झल्काउने संरचना विकास गर्न सके यो क्षेत्र ताल्ढुङ्गाको पहिचान बनेर उभिन सक्छ।
गाउँको पैसा गाउँमै
सिमेन्ट, इँटा र छडमा मात्र आधारित निर्माणले गाउँको विकासलाई बाह्य स्रोतमा बढी निर्भर बनाउन सक्छ। यसको विकल्पमा स्थानीय काठ, सीप, श्रम र प्रविधिको प्रयोग बढाउन सके गाउँभित्रै आर्थिक गतिविधि विस्तार गर्न सकिन्छ।
स्थानीय सिकर्मी, किसान, माछापालक, होमस्टे सञ्चालक, व्यवसायी तथा युवालाई एउटै आर्थिक चक्रमा जोड्न सकियो भने निर्माणदेखि पर्यटन र उत्पादनसम्मका गतिविधिबाट स्थानीय समुदायले प्रत्यक्ष लाभ लिन सक्छ।
यसका लागि स्थानीय उत्पादन–स्थानीय रोजगारी–स्थानीय पर्यटन–स्थानीय बजार लाई एउटै प्रणालीमा जोड्न आवश्यक छ।
प्रकृति र प्रविधिको संगम
ताल्ढुङ्गाको विकासको उद्देश्य आधुनिकतालाई अस्वीकार गर्नु होइन। बरु प्रकृति विनाश नगरी आधुनिक सुविधासहितको मौलिक गाउँ निर्माण गर्नु हो।
अग्राखको सुगन्ध, खानीखोलाको पानी, प्राकृतिक ताल, विशाल ढुङ्गा, स्थानीय संस्कृति र आधुनिक प्रविधिलाई एउटै अवधारणामा जोडेर ताल्ढुङ्गालाई उदाहरणीय ‘अग्राख इको–स्मार्ट भिलेज’ का रूपमा विकास गर्न सकिने सोच अघि सारिएको छ।
यसका लागि सामुदायिक वनको दिगो व्यवस्थापन, वृक्षरोपण, स्थानीय काठको वैज्ञानिक उपयोग, जैविक विविधताको संरक्षण, फोहोर व्यवस्थापन र वातावरणीय प्रभावको मूल्याङ्कनलाई विकास योजनासँगै अघि बढाउनुपर्ने हुन्छ।
अन्ततः ताल्ढुङ्गाको विकास कङ्क्रिटका संरचना थपेर मात्र मापन हुने होइन। गाउँको पहिचान कति जोगियो, स्थानीयले कति रोजगारी पाए, प्राकृतिक स्रोत कति संरक्षण भए र गाउँको अर्थतन्त्र कति बलियो बन्यो—त्यसबाट विकासको वास्तविक मूल्याङ्कन हुनुपर्छ।
शहरको नक्कल होइन, गाउँकै मौलिकतामा आधुनिकता
“शहरको अन्धाधुन्ध नक्कल होइन, गाउँकै मौलिकतामा आधुनिकता थपौँ। ताल्ढुङ्गाको प्राकृतिक पहिचान जोगाउँदै प्रकृति र प्रविधिको संगमबाट नयाँ विकासको नमुना निर्माण गरौँ।”
— सागर लामा
वडाध्यक्ष
खानीखोला गाउँपालिका–३, काभ्रे










