काभ्रेपलान्चोक । काभ्रेकी एक रुखबाट लडेर गम्भीर घाइते महिलालाई वैदेशिक रोजगारीका लागि मलेसियामा कार्यरत तीन दाजुभाइले सहयोग पठाएका छन्। डाँडापारी महाभारत गाउँपालिका–२ अम्बलबासकी गम्भीर घाइते ४२ वर्षीया ठुलीमाया वाइबाको उपचारका लागि मलेसियामा कार्यरत तीन दाजुभाइले १५ हजार रुपैयाँ आर्थिक सहयोग संकलन गरी पठएका हुन्।
प्राप्त रकम बिहीबार ग्लोबल खबर नेपालका संचालन तथा पत्रकार मोतीलाल मोक्तानले अस्पतालमै पुगेर वाइबाको परिवारलाई हस्तान्तरण गरे। गम्भीर घाइतेलाई उपचार खर्च अभावको खबर थाहा पाएर मलेसियामा कार्यरत युवाहरु मिलन जिम्बा, हरी जिम्बा र भक्त बहादुर जिम्बाले जनही ५ हजार जुटाएर सहयोग रकम पठाएको हो ।
यही बैशाख ५ गते रुखबाट खसेकी वाइबाको दुवै हात र पाँच वटा कराङ भाँचेको अस्पतालले जनाइएको छ ।हाल धुलिखेल अस्पतालमा उपचाररत छ। दुवै हात र पाँच वटा कराङको अपरेसन तथा उपचारमा ठूलो खर्च लाग्ने भएपछि अर्थ संकलन अभियान शुरु गरिएको थियो ।
छोरा ठकेन्द्र वाइबाका अनुसार खर्च अभावमा कारण अप्रेसन तथा उपचार खर्चमा समस्या भएको बताए । ‘आमाको अप्रेसन भएर होस खुलेको छैन तर, आर्थिक अवस्था कमजोर भएकाले समस्या भइरहेको छ,’ वाइबाले भने, ‘ घरको आर्थिक अवस्था कमजोर भएकोले सार्वजनिक रुपमा अरुसँग सहयोग माग्नु परेको छ। यसरी सहयोग जुट्टै गए आमा निको हुन सक्लिन् भन्ने आशा छ।’