
काभ्रेः देशभर शुक्रबारदेखि सुरु भएको एसईई परिक्षामा काभ्रेमा १२ जना अशक्तसहित ६ हजार बढी विद्यार्थी सहभागी भएका छन् । शिक्षा विकास तथा समन्वय इकाई काभ्रेमा प्रमुख गोकर्णध्वज कार्कीले एसईईको पहिलो दिन जिल्लाभर ६ हजार ७९६ जना विद्यार्थी परिक्षामा सहभागी भएको जनाकरी दिए ।
ईकाई प्रमुख कार्कीका अनुसार काभ्रेमा ६ हजार ९६६ जना विद्यार्थी रहेकोमा १८१ जना अनुपस्थित भएका हुन् । उनले काभ्रेको समुदायिक विद्यालय १५५ वटा र संस्थागत विद्यालय ६८ वटा गरी २२३ वटा विद्यालयको लागि ४० वटा परिक्षा केन्द्र तोकिएको बताए ।


ईकाई प्रमुख कार्कीले एसईई परिक्षा दिनेहरुमा समुदायिक विद्यालयका ४ हजार ६५१ जना र संस्थागत÷निजी विद्यालयका २ हजार ३२६ जना रहेको बताए । त्यस्तै अनौपचारिकतर्फ २५६ जना, खुल्लातर्फ २५, प्रविधिकतर्फ १५२, ग्रेड बृद्धिको लागि पुनः परिक्षा दिने ९ र करागारमा भएको १ जना विद्यार्थीले यसपटकको एसईई परिक्षामा सहभागी भएका छन् ।
उनले काभ्रेको एक विद्यालयमा अध्ययनरत भई भक्तपुरस्थित् बालसुधार गृहमा रहेको एक विद्यार्थीलाई सुधार केन्द्रमा नै परिक्षा दिने व्यवस्था गरिएको बताए ।
अशक्त परिक्षार्थीलाई विशेष व्यवस्था
शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख गोकर्णध्वज कार्कीले अशक्त परिक्षार्थीलाई विशेष व्यवस्था गरीएको जानकारी दिए । उनले ती अशक्त विद्यार्थीहरुलाई परिक्षा दिनको लागि अन्य सामान्य परिक्षार्थीलाई भन्दा १ घण्टा ३० मिनेटको बढी समय दिने लगायतका विशेष व्यवस्था समेत गरिएका हुन् ।
उनका अनुसार सञ्जिनी माध्यमिक विद्यालय, धुलिखेलका ३ जना दृष्टि विहिन र बाहिरा माध्यमिक विद्यालय, बनेपाका ९ गरी १२ जना अशक्त विद्यार्थी एसईई परिक्षामा सहभागी रहेका छन् ।
परिक्षा शान्तिपुर्वक सञ्चालन
इकाई प्रमुख कार्कीले पहिलो दिनको परिक्षा शान्तिपुर्वक सञ्चालन भएको र कुनै असर पर्ने खालको गतिविधि नभएको बताए ।
‘हामीले पहिलो दिन धुलिखेल, बनेपा, जनागाल, साँगा लगायतका परिक्षा केन्द्रको अनुगमन गरेका थियौँ, सबै परिक्षा केन्द्रमा शान्तपुर्वक नै भएको पायौँ,’ उनले भने, ‘अनुगमन गरेका कुनै पनि परिक्षा केन्द्रमा परिक्षालाई असर पर्ने कुनै गतिविधि भएको पाइन् । जिल्लाभरका परिक्षा केन्द्रबाट पनि राम्रोसँग परिक्षा सञ्चालन भएको जानकारी पाएको छ ।’
पालिकाका शिक्षा तथा युवा खेलकुद शाखाको अनुगमन
इकाई प्रमुख कार्कीले सबै परिक्षा केन्द्रमा एकैपटक पुग्न नसक्ने भएकाले स्थानीय तहमा रहेका शिक्षा तथा युवा खेलकुद शाखाले पनि आफ्नो पालिकाका मतहतको परिक्षा केन्द्रमा अनुगमन गर्न सकिने गरी व्यवस्था गरीएको बताए ।
उनका अनुसार ती शाखाहरुले अनुगमन पश्चात त्यहाँको अवस्था बारे जिल्लास्थित् शिक्षा विकास तथा समन्वय इकाईलाई जानकारी गराउँने छ । उनले सकभर जिल्लाका ४० वटै परिक्षा केन्द्रमा आफुसहितको टोली पुग्ने बताए ।