
काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज)–२०७८ को अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले परम्परागत मूल्य मान्यतासहित आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तीज मान्न दिदीबहिनीलाई आग्रह गर्नुभएको छ । विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकाले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उहाँले आग्रह गर्नुभएको छ ।


“नेपालको राजनीतिक परिवर्तन र नेपाललाई विश्वसामु परिचति गराउन नेपाली महिलाको योगदान उच्च छ । म यो महान् पर्वको अवसरमा नेपालको राजनीतिक परिवर्तन, सामाजिक रुपान्तरण र आर्थिक विकासमा महिलाहरूले पु¥याउनु भएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु”, सन्देशमा उपराष्ट्रपतिले भन्नुभएको छ, “राज्यको हरेक निकायमा महिलाको समानुपातिक समावेशी प्रतिनिधित्व, पैतृक सम्पत्तिमा महिलाको हकलगायत राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा प्राप्त महिला अधिकारका लागि गौरव गर्न आग्रहसमेत गर्दछु ।’
उपराष्ट्रपतिले राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिहरूको रक्षाका लागि सचेत हुन र खबरदारी जारी राख्न आग्रह गर्नुभएको छ ।