काभ्रे। काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–५ मा डाँडापारी युवा मञ्च नेपालको आयोजनामा सञ्चालन भइरहेको मैत्रीपूर्ण पुरुष भलिबल प्रतियोगिताको पहिलो चरणका खेलहरू सम्पन्न भएका छन्।
महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा ‘संसार’को प्रमुख आतिथ्यतामा प्रतियोगिताको पहिलो चरण सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका वडा नं. ४ का अध्यक्ष विशाल मोक्तान लामा, वडा नं. ५ का अध्यक्ष विजय राना लगायतको उपस्थिति रहेको थियो।


पहिलो चरणअन्तर्गत महाभारत गाउँपालिका–४ स्थित नमुना युवा क्लब र वडा नं. ५ स्थित डाँडापारी युवा मञ्च नेपालबीच भएको खेल निकै रोमाञ्चक तथा प्रतिस्पर्धात्मक बनेको थियो। उक्त खेलमा नमुना युवा क्लबका खेलाडीहरूले जित हासिल गरेका छन्।
विजयी नमुना युवा क्लबलाई आयोजकले बधाई दिँदै प्रतियोगिताको प्रथम स्थान हासिल गर्न सफलताको शुभकामना व्यक्त गरेको छ।
स्थानीय स्तरमा खेलकुदको विकास, युवाबीच आपसी सद्भाव, एकता र भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।









