काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसलाई मतदान गर्ने मतदाताहरुलाई सुरक्षा दिदैँ मतदानस्थलसम्म लैजान युवाहरुलाई निर्देशन दिएका छन् ।
बिहीवार काठमाडौंमा आयोजित नेपाली काँग्रेस सुनापति गाउँपालिका केन्द्रित चुनावी अभियानको भेलालाई सम्बोधन गर्दै महामन्त्री शर्माले मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि आग्रह गरे ।
स्थानीय तह निर्वाचनमा काँग्रेसको उम्मेदवारको मुख नहेरी रुखलाई हेरेर मतदान गर्न नेता, कार्यकर्ताहरुलाई उनले आग्रह गरेका छन् । दश वर्षमा देशलाई बिजुली बेचेर धनी बनाउने सपना कांग्रेसको रहेको महामन्त्री शर्माको भनाई छ ।
उनले एमसीसी परियोजना सफल भएर दश वर्षमा हरेक नेपालीको चुल्होमा बिजुलीले खाना पकाउन सक्ने अवस्था आउने पनि उल्लेख गरे । काठमाडौंको सडकमा डिजेल र पेट्रोलको गाडीहरुलाई विस्थापित गरेर विद्युतीय गाडी विस्तार गरिने पनि उन भनाई छ ।