![](https://globalkhabars.com/wp-content/uploads/2022/04/madhyapur-thimi.jpg)
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यपुर थिमि नगरपालिकामा गठबन्धनको मेयर तथा उपमेयर उम्मेद्वारहरुलाई स्थानीय तह निर्वाचनका सन्दर्भमा आवश्यक
निर्देशन दिएका छन् ।
पाँच दलीय गठबन्धनका सूत्रधार रहेका अध्यक्ष प्रचण्डले चुनावी तयारीबारे बुझ्दै आवश्यक निर्देशन दिएका हुन् । अध्यक्ष प्रचण्डले बोलाएपछि बिहीबार बिहान गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ र उपमेयरका उम्मेदवार विजयकृष्ण श्रेष्ठ प्रचण्ड निवास खुमलटार पुगेका थिए । उम्मेदवारहरुलाई पार्टीका केन्द्रीय सदस्यद्वय दिलिप प्रजापति ‘भिष्म’ र डिपी ढकाल प्रचण्ड निवास लिएका थिए । अध्यक्ष प्रचण्डले बोलाएर निर्देशन दिएपछि मध्यपुरमा गठबन्धनका मेयर र उपमेयर र अन्य उम्मेदवारहरु उत्साहित भएका छन् ।
![](https://globalkhabars.com/wp-content/uploads/2024/02/Chhar-Nepal-Construction-Pvt.-Ltd.-247x300.jpg)
![](https://globalkhabars.com/wp-content/uploads/2024/07/MAHABHARAT-GAUPALIKA-BIPAT-240x300.jpg)
उक्त अवसरमा अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धनको विरुद्धमा देशीविदेशी शक्तिहरु लागिरहेकाले उनीहरुको भ्रम र प्रहारलाई परास्त गर्दै एकढिक्का भएर चुनावी अभियानमा लाग्न निर्देशन दिएको नेता डिपी ढकालले बताए । राजधानीसँगै जोडिएको भक्तपुरको मध्यपुर थिमिका जनता सचेत समाजका प्रतिनिधि पात्र भएका भन्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र र संविधान रक्षाको लागि जनताले गठबन्धनका उम्मेदवारहरुलाई मतदान गर्ने विश्वास समेत व्यक्त गरे ।
देशैभर गठबन्धनको पक्षमा जनता खुलेर लागेका जानकारी गराउँदै उनले स्थानीय चुनावले प्रतिगामी र यथास्थितिवादीहरुलाई पाखा लगाउँदै लोकतान्त्रिक र अग्रगामी शक्तिलाई स्थानीय सरकारको साँचो सुम्पने दावी गरे । व्यवस्था परिवर्तनमा नेपाली काँग्रेस र माओवादी केन्द्रको नेतृत्वदायी भूमिका रहँदै आएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले वर्तमान गठबन्धन व्यवस्था रक्षाको लागि भएको र सम्पूर्ण मतदातालाई यो कुरा बुझाउनु आवश्यक भएको बताए ।
अध्यक्ष प्रचण्डले मध्यपुर थिमिमा आफू पटक–पटक आइरहेको र यहाँको समस्याबारे जानकार रहेको भन्दै मध्यपुरलाई नमूना नगरपालिकाको रुपमा विकास गर्न आफ्नो र पार्टीको तर्फबाट सक्दो पहल गर्ने प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले निवासमै बोलाएर आवश्यक निर्देशन र सल्लाह दिएपछि आफूहरुलाई थप उर्जा प्राप्त भएको उनीहरुको भनाइ छ । ‘अध्यक्षले अगाडि बढ्नुस्, मध्यपुरलाई नमूना नगर बनाउन मेरो साथ रहन्छ भन्नुभएकोले उत्साहित भएर आएका छौं।’ उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठले बताए ।
मध्यपुर थिमिमा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार सुरेन्द्र श्रेष्ठ नेपाली काँग्रेसका निवर्तमान नगर सभापति हुन् भने उपमेयर उम्मेदवार विजयकृष्ण श्रेष्ठ नेकपा(माओवादी केन्द्र)का नगर अध्यक्ष हुन् । अघिल्लो निर्वाचनको अंकगणित हेर्दा मध्यपुर थिमिमा गठबन्धनका उम्मेदवारहरु बलिया रहेका छन् भने सामाजिक व्यक्तित्वको आधारमा समेत उनीहरु बलिया दावेदार हुन्।