
काठमाडौं । अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणका लागि नेपाल आइपुगेका छन् ।
उपाध्यक्षसहितको टोली बिहीबार बिहान ९ बजेर २५ मिनेट जाँदा कतार एयरवेजको फ्लाइटबाट काठमाडौं आइपुगेको त्रिभूवन विमानस्थल स्रोतले जनाएको छ । ९ बजेर १० बजे आइपुग्ने पूर्वनिर्धारित कार्यतालिका रहेपनि उनीहरु केही समय ढिला गरि काठमाडौं आइपुगेका हुन् ।


उपाध्यक्ष फतेमा सुमारको भ्रमणलाई लक्षित गर्दै काठमाडौंको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भएको भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।