महाभारत, काभ्रे । स्थानीय तहको निर्वाचन मिति नजिकिदै महाभारत गाउँपालिकामा पनि राजनीतिक दलहरुले चुनावी अभियानलाई तीब्रता दिएका छन् । उम्मेदवारी दर्तासँग अहिले भोट माग्न उम्मेदवरहरु घर घरमा पुगेका छन् । महाभारत गाउँपलिकामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो । आठ वटा वडा रहेको पालिकामा राजनीतिक दलहरुले चुनाव जित्न उपायदेखि लिएर चुनावी हिसाब समेत निकाल्न थालेका छन् । गत निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र नेपाली कांग्रेस विशेषगरी चुनावी मैदानमा होमिएका थिए ।
त्यति बेला माओवादी केन्द्र र नेपाली कांग्रेसकोबीचमा चुनावी प्रतिस्पर्धा भएको थियो । माओवादीले कांग्रेसलाई १ सय ६ मतअन्तरले मात्र चुनाव जितेको थियो । विशेषगरी पालिकामा माओवादी र एमालेबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यस पटक कांग्रेसले माओवादीसँग गठबन्धन गरेको कारण उपाध्यक्ष लिएर माओवादी केन्द्रलाई अध्यक्षमा सघाउने भएको छ । महाभारतमा माओवादी केन्द्र र एमालेकै बीचमा चुनावी प्रतिस्पर्धा हुने भएको छ । नेकपा एकीकृत समाजवादीले पालिकामा उपाध्यक्ष पदमा उम्मेदवारी दिएर प्रतिस्पर्धा गरेको छ ।
एमालेले पुर्ण बहादुर वाईबालाई पालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ । केहि समय अगाडि मात्रै नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेको वाईबालाई पार्टीले उम्मेदवार बनाएका छ । उनी महाभारत गाउँपालिकाका नेकपा माओवादी केन्द्रको स्थापित नेता थियो । एमालेको पार्टीभित्रका आकांक्षीलाई पछि पार्दै वाइबालाई टिकट दिएको हो ।
पालिकाभित्र एमालेको सांगठानिक उपस्थिति बलियो रहेको निष्कर्ष एमालेले निकाल्दै चुनाव जित्ने हिसाब निकालेको छ ।एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीले पनि पालिकाको उपाध्यक्षमा धन बहादुर आले उम्मेदवारी दिएको छ । एकीकृत समाजवादीले एमालेको केही भोट काटन सक्ने चुनौती एमालेलाई देखिएको छ । गत निर्वाचनमा एमालेले १ हजार २५० मत ल्याएको थियो ।
माओवादी केन्द्रबाट पालिकाको अध्यक्षमा कान्छालाल जिम्बा (संसार) उम्मेदवार रहेका छन् । जिम्बालाई कांग्रेसले साथ दिएको छ । पालिकामा अन्तिम समयमा आएर माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो । माओवादी केन्द्रले अध्यक्ष र नेपाली कांग्रेसले उपाध्यक्ष लिएको छ । माओवादी केन्द्रको पालिका अध्यक्ष तथा यसअघि चुनाव जितेर राम्रो काम गरेको र सांगठानिक अवस्था विगतको भन्दा जनै राम्रो बनेकोले जिम्बा यस पटक पनि निर्वाचत जित्नेमा ढुक्क छन् । उपाध्यक्ष पदको लागि नेपाली कांग्रेसबाट सागर मोक्तानको उम्मेदवार रहेको छ । मोक्तान कांग्रेसको गाउँपालिका अध्यक्ष समेत हुन ।
गत निर्वाचनमा माओवादी केन्द्रले २ हजार ३ सय ४२ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले २ हजार २३६ मत प्राप्त गरेको थियो । गत निर्वाचनमा दुई पाटीको मत जोडदा ४ हजार ५७८ हुन्छ । यसलाई नै आधार बनाएर केही मत बढाउन सकिने नीतिमा कांग्रेस र माओवादी लागेका छन् ।
यस पटकको निर्वाचनमा महाभारत गाउँपालिका १२ हजार २ सय ४० मतदाता रहेका छन् । चुनाव जित्नका लागि झण्डै साढे पाँच हजार मत ल्याउनु पर्ने अनुमान गरिएको छ । गत निर्वाचनको परिणाम हेर्दा एमालेको भन्दा गठबन्धनको ३ हजार ३२८ मत बढी देखिन्छ त्यसैले यो परिणाम हेर्दा गठबन्धन जित्ने निश्चित देखिन्छ । दुई पार्टीभित्र गठबन्धन भएपनि भोट हाल्ने नहाल्ने शंका कायमै रहेको बताइएको छ ।