काभ्रे / महाभारत काभ्रे डाँडापारी महाभारत गाउँपालिका वडा नं. ५ बुढाखानीकी सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार गरिको छ । बुढाखानीकी २० वर्षीय अनुशा मोक्तानलाई गाउँपालिकाले नेपाली सेनको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं पठाएको हो । लामो व्यथा तथा दिसापिसाब रोकेकी मोक्तानलाई सुरक्षित प्रसूतीको लागि स्थानीय बुढाखानी बर्थिङ सेन्टर चारकिल्लामा उपचार सम्भव नभएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएकाले गाउँपालिकाले हेलिकप्टरमार्फत काठमाडौं स्थित प्रसुती गृह थापाथली रेफर गरिएको वडा अध्यक्ष रविन मोक्तानले बताए ।

‘उपचार नपाएर जोखिममा परेका सुत्केरी तथा गर्भवतीलाई निःशुल्क उद्धार गर्दै आइरहेका छौँ,’ गाउँपलिका अध्यक्ष कान्छालाल जिम्बाले भने, ‘गाउँपालिकाले सञ्चालन गरेको ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुका लागि निःशुल्क हवाई उद्धार निर्देशिका २०७७ अनुसार मोक्तानले निशुल्क सेवा पाएकी हुन् ।’

हाल सम्म महाभारत गाउँपालिकाले आधा दर्जन भन्दा बढी सुत्केरी महिलाहरुलाई हेलिकप्टरबाट उद्धार गरिसकेको छ ।पालिका भित्रका ८ वडामा जटिल समस्या भएका गर्भवती र सुत्केरी महिलालाई तत्कालै अस्पताल पु¥याई जीवन रक्षा गर्ने उद्धेश्यले हवाई सेवा सुचारु गरेको गाउँपालिकाका अध्यक्ष जिम्बाले बताए । गाउँपालिकाको यो कार्यक्रमले जटिल समस्या भएर गर्भवती तथा सुत्केरी महिलाको अकालमै हुनसक्ने सम्भावित मृत्यु र जोखिमबाट बच्न सक्ने र मातृ तथा शिशु मृत्युदर शून्यमा झार्ने योजनालाई महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।

समयमै स्वास्थ्य सेवा नपाएकै कारण काभ्रेको डाँडापारी क्षेत्रका सुत्केरी महिलाहरुले अकालमै ज्यान गुमाउँनु परेको छ । विकट क्षेत्र, सडक सञ्जालको विस्तार नहुनु, गाउँमै व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा नहुनु, गाउँसम्म एम्बुलेन्स सेवा नहुनु र समयमै उपचारका लागि अस्पताल लैजान नसक्दा समस्या भोग्दै आइरहेका छन् । नागरिकका यस्ता समस्यालाई मध्यनजर गर्दै महाभारत गाउँपालिकाले गर्भवती र सुत्केरी महिलाका लागि निःशुल्क रुपमा हवाई सेवा सुरु गरेको हो । गर्भवती र सुत्केरी बाहेकका अन्य व्यक्तिलाई भने सःशुल्क सेवा प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय