महाभारत, काभ्रे । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछिको दोस्रो स्थानीय तहको निर्वाचनको मतदान काभ्रेको महाभारत गाउँपालिकाको सबै वडामा बिहान ७ बजेदेखि सुरु भएको छ ।
आम मतदाताले आफूले मन पराएका आफ्ना घर आँगनमा उम्मेदवारलाई स्थानीय सरकारको नेतृत्वमा पु¥याउन मतदान गर्दैछन् । विसं २०७४ साल पछिको यो दोस्रो स्थानीय तहको निर्वाचन हो । मतदाताहरु अधिकांश मतदान केन्द्रमा झिसमिसेदेखि नै उत्साहका साथ मतदानका लागि प्रतीक्षारत देखिन्थे ।
महाभारत गाउँपालिकामा ८ वटा वडामा मतदानस्थल ८ र मतदान केन्द्र १६ रहेको छ । ६ हजार ५४३ पुरुष र ५ हजार ८७७ जना महिला मतदाता गरेर कुल १२ हजार २४० जना मतदाताले मतदान गर्नेछन् । मतदान साँझ ५ बजेसम्म हुनेछ ।
स्थानीय सरकार चयन गर्न मतदाता उत्साहपूर्वक मतदानका लागि लामबद्ध छन् । गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष, दुई खुला वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य निर्वाचन हुनेछन् ।
निर्वाचन गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतको आधारमा बहुमतीय निर्वाचन प्रणालीमा भएको हो । महाभारत गाउँपालिकामा १ अध्यक्ष, १ उपाध्यक्ष, ८ वडा अध्यक्ष, १६ खुल्ला सदस्य, ८ महिला सदस्य र ८ दलित महिला सदस्य निर्वाचित हुनेछन् ।
निर्वाचनमा कुल १ सय २२ उम्मेदवार चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रेका छन् । गाउँपालिका अध्यक्ष पदका लागि २ जना, उपाध्यक्ष पदका लागि ३ जना, वडा अध्यक्ष पदका लागि २४ जना, खुल्ला सदस्यको लागि ४८ जना, महिला सदस्यको लागि २४ जना र दलित महिला सदस्यको लागि २१ जना चुनावी मैदानमा उम्मेदवारहरु छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसार महाभारत गाउँपालिकाको मतदान केन्द्रमा नेपाल प्रहरी र म्यादी प्रहरी गरी जम्मा ८५ प्रहरी परिचालन गरिएको छ । जस नेपाल प्रहरी १३ जना र म्यादी प्रहरी ७२ जना रहेको छ । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरी परिचालन गरिएको छ ।