काठमाडौं । स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा ललितपुर, पोखरा, विराटनगर र वीरगंज महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता कायम गरेका छन् ।
पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेको अग्रता
स्थानीय तह निर्वाचनअन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले अग्रता बढाएका छन् । पोखरा महानगरको जारी मतगणनामा ५२ हजार ८१७ मत गणना हुँदा गठबन्धनबाट मेयर पदका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन् । नेकपा एमालेका मेयर उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाटकोे २२ हजार १२२ मत छ भने एमालेका मञ्जुदेवी गुरुङले २२ हजार १३१ मत प्राप्त गरेकी छन् ।
विराटनगरमा कोइरालाको चार हजार बढीको अग्रता
विराटनगर महानगरपालिकामा गठबन्धन दलका मेयरका उम्मेदवार नेपाली कांग्रेसका नागेश कोइरालाले चार हजार ८३५ मतले अग्रता लिएका छन् ।

यसैगरी गठबन्धन दल जनता समाजवादी पार्टी, नेपालका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादव प्रतिस्पर्धीसँग ६ हजार ७३७ मतले पछाडि छन् । । मुख्य निर्वाचन कार्यालयका अनुसार महानगर प्रमुखका उम्मेदवार कोइरालाले १९ हजार १७३, नेकपा एमालेका सागर थापाले १४ हजार ३३८, स्वतन्त्र उम्मेदवार उमेश यादवले छ हजार १८७ र राप्रपाका प्रल्हादप्रसाद साहले तीन हजार ७०८ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयरमा नेकपा एमालेकी शिल्पा निराला कार्कीले १६ हजार ५५२, गठबन्धन दलतर्फका यादवले नौ हजार ८१५, राप्रपाको विन्दाकुमारी लुइँटेल आचार्यले चार हजार ४९३ र स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने पोखरेलले तीन हजार ५४९ मत प्राप्त गरेका छन् ।

यसैबीच विराटनगर महानगर वडा नं १५ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश साह एक हजार ८९७ मत ल्याई निर्वाचित भएका छन् । महानगरमा अहिले वडा नं ३, ४, ५, ६, ८, ११, १२ र १४ को मतगणना भइरहेको छ ।
ललितपुर महानगरमा नौ वडाको गणना सकियो
ललितपुर महानगरपालिकमा हालसम्म नौ वटा वडाको मतगणना हुँदा पाँच वडाको वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेकपा (एकीकृत समाजवादी)ले दुई र नेकपा एमालेले एक र एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

नेपाली कांग्रेसबाट वडा नं ४ मा सन्तोष खड्का, वडा नं ६ मा रुपेन्द्रराज शाक्य, वडा नं ७ मा कुलबहादुर महर्जन वडा नं ८ मा बाबुरत्न महर्जन र वडा नं १० मा रवीन व्यञ्जनकार विजयी भएका छन् । वडा नं २ मा नेकपा एकीकृत समाजवादीका राजेशकुमार महर्जन र ३ मा श्रीगोपाल महर्जन विजयी भएका छन् । वडा नं १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार र वडा नं ५ मा एमालेका विकासमान श्रेष्ठ विजयी भएका छन् । हाल वडा नं ९, ११ र १२ को गणना जारी छ ।

वडा नं १० मा यसअघि १० पटकसम्म सोही स्थानबाट विजयी भएका स्वतन्त्र उम्मेदवार नरसिंह व्यञ्जनकार विजयी हुन सकेनन् । रविनले ८२५ मत पाएका छन् भने निकटम प्रतिस्पर्धी नरसिंहले ५७८ मत पाए । महानगरमा २९ वडा रहेकामा हालसम्म नौ वडाको मात्रै परिणाम आएको छ । शुक्रबार मतदान भएपछि शनिबारदेखि मतगणना सुरु भएको थियो । सुरुमा एक ठाउँमा मात्रै गणना भएकामा हाल तीन वडाको एकै पटक गणना भइरहेको छ । अन्तिम मतपरिणाम आउन अझै केही दिन लाग्ने देखिएको छ ।

महानगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा एमालेकी मञ्जली शाक्यको अग्रता कायम रहेको छ । पछिल्लो विवरणअनुसार नेपाली कांग्रेसका उम्मेदवार महर्जनले १७ हजार ७०० र नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले नौ हजार ५४४ मत पाएका छन् । उपमेयरमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले नौ हजार ६६६ मत र नेकपा (माओवादी) का बाबुराजा बज्राचार्यले छ हजार २८ मत पाएका छन् ।

वीरगंजमा राजेशमानको ८ हजार भन्दा बढी मतको अग्रता
स्थानीय तह निर्वाचनअन्तर्गत वीरगंज महानगरपालिकामा मतगणना जारी छ । ३२ मध्ये ११ वटा वडाको ३१ हजार ७०१ मतगणना सकिएको छ । नगर प्रमुख पदमा पाँचदलीय सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का उमेदवार राजेशमान सिंहको अग्रता निरन्तर बढ्दै गएको छ । पछिल्लो गणनाअनुसार सिंहले १७ हजार दुई मत पाएका छन् ।

नेकपा (एमाले)का उमेदवार विजयकुमार सरावगीले आठ हजार ६५७ मत ल्याएका छन् । उनीहरूबीचको मतान्तर आठ हजार ३४५ छ । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार गिरीश गिरीले ७७९ मत पाएको प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । उनका अनुसार बिहीबार दिउँसो साढे १ बजेसम्म प्रमुख पदमा पाँच हजार १११ मत बदर भएको छ । २६ हजार ५९० मत सदर भएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय