
काठमाडौं । सुन्दरी प्रतियोगिताका नाममा किशोरी बलात्कार गरेको आरोप लागेका मनोज पाण्डे पक्राउ परेका छन् । महानगरी अपराध अनुसन्धान महाशाखाको टोलीले पाण्डेलाई शनिबार स्वयम्भुबाट पक्राउ गरेको हो । एक युवतीले सामाजिक सञ्जालमार्फत पाण्डेमाथि आफू नाबालिग छँदा बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
सामाजिक संजालमा युवतीले न्याय मागेको भिडियो सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय अनुसन्धान समितिसमेत बनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् ।


समितिले शुक्रबारबाटै काम सुरु गरेको छ । घटना सार्वजनिक भएपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रतिनिधिसभा बैठकमा यससम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका थिए । त्यस्तै दोषीलाई कारबाहीको माग गर्दै दुई दिनदेखि काठमाडौंमा प्रदर्शनसमेत भइरहेको छ ।