काभ्रे । काभ्रेको कोशीपारिस्थित् भुम्लु गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर भुजेल ‘बृहत’ले पदघार ग्रहणसँगै पहिलो दिन प्राणघात रोगको निशुल्क उपचारको लागि ‘रोग निवारण कोष’को स्थापना गरेर कार्य थालनी गरेका छन् ।
गाउँपालिकाको अध्यक्षका रूपमा पदभार ग्रहण गर्दै अध्यक्ष भुजलले मृगौला क्यान्सर, मस्तिष्कघात लगायतका प्राणघात रोग लागेका गाउँपालिकाभित्रका नागरिकहरुको निशुल्क उपचार गर्ने गरी ‘रोग निवारण कोष’ स्थापना गरेका हुन् ।
गाउँपालिका अध्यक्ष भुजेलले प्राणघातक जस्तो जटिल रोगबाट कोही गाउँपालिकाभिका नागरिकले आर्थिक अभावका कारण अल्पयुमै मृत्युवरण गर्न नपरोस् र विरामीको निशुल्क उपचार गर्न सकियोस् भन्ने उद्देश्यले उपचार कोष स्थापना गरिएको बताए ।
‘मृगौला, मस्तिष्क घात जस्ता प्राणघात रोगको उपचारको लागि धेरै खर्च लाग्ने रहेछ,’ उनले भने, ‘त्यसको सहजताको लागिसँगै विपन्न नागरिकहरु आर्थिक अभावको कारण झन् मारमा परेको देखिएकोले पहिलो प्रथामिकता स्वास्थ्यलाइ राखेर उक्त कोषको स्थापना गरिएको हो ।’
अध्यक्ष भुजेलका अनुसार गाउँपालिकाले ‘रोग निवारण कोष’को फाइल सदर गर्दै हस्ताक्षर प्रमाणित गरेको छ । उनले भुम्लुका नागरिक उपचार अभावमा अकाल्मै मर्नु पर्ने दिनको अन्त्य गर्ने घोषणसमेत गरे ।
अध्यक्ष भुजलले गाउँपालिकाभित्र स्वास्थ्यसँगै शिक्षा, यातायात लगायतलाई आवश्यकताको आधारमा प्रथाकिता दिएर आफ्नो कार्यकालभित्र नै समृद्ध भुम्लु बनाउनेमा जोड दिइने बताए । कार्यभार सम्हालेको पहिलो दिनमै निकै राम्रो र आशा लाग्दो कामको सुरुवात भएको भन्दै स्थानीयले खुसी व्यक्त गरेका छन् ।
अध्यक्ष भुजेल भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन दल नेकपा –माओवादी केन्द्र)को तर्फबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्षको रूपमा निर्वाचित भएका हुन् ।