काभ्रेः जिल्लाको विकट खानीखोला गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष इन्द्रबहादुर थिङ ‘छिन्ताङ’ले दलित, सिमान्तकृत वा विपन्न परिवारमध्ये उत्कृष्ट २ जना विद्यार्थीलाई प्राबिधिक वा उच्च शिक्षा अध्ययनको लागि छात्रबृद्धिको ब्यवस्था गर्ने निर्णय गरेका छन् । उनले प्रमुख प्रशासकीय अधिकृतले विद्यार्थी छात्रबृद्धि सम्बन्धी पेश गरेको फाइलमा हस्ताक्षर गर्दै पदभार सम्हालेका हुन् ।
अध्यक्ष थिङले एसईईमा उत्कृष्ट ग्रेड ल्याउने दलित, सिमान्तकृत वा विपन्न परिवारमध्ये १ छात्र र १ छात्रा गरी २ जना विद्यार्थीलाई प्राबिधिक वा उच्च शिक्षा अध्ययनको लागि छात्रबृद्धिको ब्यवस्था गरिने निर्णय गरेको जानकारी दिए । उनीहरुको सम्पुर्ण खर्च गाउँपालिकाले व्यहोर्ने उनको भनाई छ ।


‘गाउँपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयबाट एसईईमा उत्कृष्ट ग्रेड ल्याई उतीर्ण हुने दलित, सिमान्तकृत वा विपन्न परिवारमध्ये १ छात्र र १ छात्रा गरी २ जना विद्यार्थीलाई प्राविधिक वा उच्च शिक्षा अध्ययनका लागि छात्रबृद्धिको व्यवस्था गराउने प्रतिवद्धता जाहेर गर्दछु’, अध्यक्ष थिङको पहिलो निर्णयमा भनिएको छ ।
उनले गाउँपात्रिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धि गर्न सुक्ष्म ढंगले अध्यनन गरी आवश्यक कदम समेत चल्ने बताए ।
त्यस्तै पदभार ग्रहणपछि संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष थिङले सडक, खानेपानी, सञ्चार, जडिबुटी लगायतमा योजनाबद्ध रुपमा काम थाल्न गरी पञ्चवर्षीय योजना बनाएर ५ वर्षभित्र जनताले अनुभूती गर्ने गरी खानीखोलाको विकास गराउने बताए । उनले १ वर्षभित्र केन्द्रिय विद्युत प्रसारण लाईनमार्फत हरेक घर–घरमा बत्ती पु¥याउने बताए ।
उनले पदभार ग्रहण गर्नु अघि शहिदहरुप्रति श्रद्धाञ्जली तथा शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै गाउँपालिकाको अध्यक्षमा विजयी गराउने मतदाताहरूलाई आभार व्यक्त गरेका थिए ।
को हुन्, अध्यक्ष थिङ
काभ्रेको विकट खानीखोला गाउँपालिका–२ (साविक फलामेटार गाविस वडा नं. २)मा जन्मिएका गाउँपालिका अध्यक्ष थिङले २०५१ सालदेखि विद्यार्थी आन्दोलनाबाट राजनीतिक यात्रा सुरु गरेका थिए । उनको सुरुवाती राजनीतिक यात्रा काठमाडौँस्थित् आरआर क्याम्पसबाट सुरु भएको हो । उनी जनकलाकार समेत हुन् ।
उनको शब्द, स्वर र संगीतमा सिर्जित ‘तिमी झन् आगो बन्नु’, ‘होई मैच्याङ’ जस्ता दजनौँ बढी चर्चित गीतहरु छन् । उनले ‘लाल सलाम’ चलचित्रमा मुख्य कलाकारको भुमिका निर्वाह गरेको छ ।
उनले तत्कालीन नेकपा माओवादीको जयुनद्धमा जनकलाकार भएर गाउँ–गाउँमा जगरणको गीत सुनाउँदै रेडियो जनगणतन्त्रमा रहेर लामो समय काम गरे । पछिल्लो समय उनले खानीखोलको बृहत्तर विकाससँग जोडेर ‘हाम्रो खानीखोला’ नामक गीत पालिका गानाको रुपमा सार्वजनिक गरेको छ ।
शान्ति सम्झौतापछि राष्ट्रिय खेलकुद परिषद् (राखेपा)को कोषाध्यक्षसँगै राष्ट्रिय चलचित्र विकास वोर्डको सचिवको जिम्मेवारी समेत सम्हालेका अध्यक्ष थिङ माओवादी केन्द्र बागमती प्रदेशको सचिव समेत हुन् ।
काभ्रेमा उनलाई वास्ताविक नाम इन्द्रबहादुर थिङले भन्दा ‘छिन्ताङ’ उपनामबाट धेरैले चिन्ने गर्छन् । छिन्ताङ भन्ने वित्तिकै आम काभ्रेली जनताको मनमस्तिष्कमा माओवादी जनयुद्धका जनकलाकार भनेर सम्भिने गर्दछन् ।










