
काभ्रे । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं केन्द्रीय कार्यालय इञ्चार्ज वर्षमान पुनले हरेक जनप्रतिनिधिको अनुहारमा पार्टी देखिनुपर्ने बताएका छन् ।
नेकपा (माओवादी केन्द्रकाभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिले आज धुलिखेलमा आयोजना गरेको ‘स्थानीय तह निर्वाचन–२०७९ मा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान’ कार्यक्रममा उनले हरेक जनप्रतिनिधिले गरेको कामको जिम्मा पार्टीले लिने बताएका हुन् । विगतका निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएर गएपछि पार्टीले कहिल्यै पनि खोजेन र निर्वाचित भएकाले पनि पार्टीलाई नखोजेका कारण समस्या आएको जनाउँदै अब त्यसो नहुने उनको भनाई छ।


“अब त्यस्तो हुँदैन, विगतका अनुभवका आधारमा त्यसको समीक्षा गर्दै नयाँ योजना र नीतिका साथ पार्टीले तयार गरेको नीति र कार्यदिशाका आधारमा काम गर्ने वातावरण बनाउन आवश्यक छ”, उनले भने, “कार्यशैलीमा भएका कमी–कमजोरी केलाएर त्यसको समीक्षा गर्दै राम्रो कामलाई जनतामाझ पु¥याउने र नराम्रो गरेको खण्डमा सुधार गर्दै अगाडि बढ्नका लागि पार्टीले दिशानिर्देश गर्नेछ ।”
उनले जनताको सहभागितामा शासन सञ्चालन गर्ने गरी सङ्घीयताको डिजाइन गरेका कारण मौलिक अधिकारसहितको सङ्घीयता भएको स्थानीय सरकारको जिम्मेवारी पाउनु गौरवको कुरा भएको उल्लेख गर्दै जनप्रतिनिधिले पार्टीको विचार, नीति, कार्यशैली र राजनीतिअनुसार काम गर्छ कि गर्दैन भन्ने परीक्षाको विषय भएको बताए ।
विगतमा विजयी भएका जनप्रतिनिधिले हारेको ठाउँमा त्यसको जवाफ दिनुपर्ने बताउँदै सरकारमा हुँदा हार्ने र बाहिर हुंदा जित्ने कसरी भइरहेको छ भन्ने विषयको समेत कारण खोजी गरिने नेता पुनको भनाइ छ । सङ्घीयता, समावेशिता र स्थानीय स्वायत्तता माओवादीको नीति भएकाले विगतमा विजय हासिल गरेर व्यवस्था बदलेको र यसपटक भएको विजयले जनताको आर्थिक अवस्था बदल्ने गरी काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिए ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं काभ्रेपलाञ्चोकका इञ्चार्ज सूर्यमान दोङले अहिले जसरी विजय भएका छौँ, त्यसभन्दा पनि गुणात्मक ढङ्गले अर्को निर्वाचनमा विजय हासिल गर्ने गरी काम गर्न आग्रह गरे। अहिलेको निर्वाचनमा विजयी जनप्रतिनिधिले पार्टी नीति, कार्यशैली र कार्ययोजनाका आधारमा काम गर्नसमेत उनको आग्रह छ । निर्वाचनमा पार्टीको उम्मेदवारलाई विजय गराउन खटिने गाउँपालिका र वडा कमिटीलाई उनले धन्यवाद व्यक्त गरे ।
माओवादी केन्द्र काभ्रेपलाञ्चोक जिल्ला समन्वय समितिका संयोजक भोला अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका विभिन्न स्थानीय तहमध्ये गाउँपालिका अध्यक्षमा विजयी खानीखोलाका अध्यक्ष इन्द्रबहादुर थिङ, महाभारतका अध्यक्ष कान्छालाल जिम्बा, चौरीदेउरालीका अध्यक्ष रेणुका चौलागाईँ, भुम्लुका अध्यक्ष प्रेमबहादुर भुजेल तथा नमोबुद्ध नगरपालिका उपप्रमुख रत्नबहादुर लामा र बेथानचोक गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनालगायत विजयी वडाध्यक्ष र सदस्यलाई सम्मानपत्र प्रदान गरिएको छ ।