
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले यसअघिको निर्वाचनमा सहजै जितेका ठाउँमा अहिले नराम्रोसँग हारिएको भन्दै त्यसको गम्भिर समीक्षा हुने बताएका छन्।
देशभरका निर्वाचित माओवादीका जनप्रतिनिधिलाई प्रशिक्षण दिनेक्रममा अध्यक्ष दाहालले हिजो जितेका ठाउँमा अहिले हार्नुपर्ने कारण के रहेछ भन्ने कुराको समीक्षा हुने बताएका हुन्।


उनले भने, ‘हाम्रो कार्यशैली र उद्देश्य, हाम्रो अहिलेको व्यवहारले देखिएको छैन। अहिले नै रुपान्तरण गर्न त सकिन्छ। हामीले किन जित्यौं। किन हार्यौं, समीक्षा गर्नुपर्ने बेला भएको छ। हिजो राम्रोसँग जितेका ठाउँमा अहिले नराम्रोसँग हारेका छौं। केन्द्रमा गम्भिर आत्मसमीक्षा गर्ने प्रक्रियामा छौं। तपाईंहरू पनि आफ्नो क्षेत्रमा गम्भिर रूपमा समीक्षा गर्नुहोला।’
उनले भक्तपुरमा नेमकिपाले कहिले नहारेको उदाहरण दिँदै जनताको हितमा काम गरे अहिले निर्वाचित भएका १२२ वटा स्थानलाई नै भक्तपुर बनाउन सकिने बताए।
‘हामीले ०६४ मै भक्तपुरमा जित्न खोजेका थियौं, तर सकेनौं,’ उनले भने, ‘अहिले पनि हेर्नुस त्यहाँ नेमकिपाले नै जित्यो। हामीले पनि जनस्तरमा त्यसै अनुसार काम गर्न सक्यौं भने राम्रोसँग जित्न सक्छौं।’
उनले १२२ वटा स्थानमा प्रमुख र अध्यक्ष जित्न सकेको भन्दै अहिले अलिकति मिहेनत गर्न सकेको भए दोस्रो हुन सक्ने बताए।