
काभ्रे । जिल्लाको धुलिखेलस्थित् काठमाडौं विश्वविद्यालयको २७ औँ दीक्षान्त समारोह (दोस्रो चरण)मा विभिन्न विषयका गरी १ हजार ७ सय १२ जना विद्यार्थी दीक्षित भएका छन् । शुक्रबार विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने स्वदेशी र विदेशी विद्यार्थी दीक्षित भएका हुन् ।
कार्यक्रममा कला, शिक्षा, इन्जिनियरिङ, व्यवस्थापन, विज्ञान र चिकित्सा विज्ञान विधाका गरी ११ जना पिएचडी तथा एमफिल ४३ सहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन् ।


उक्त दीक्षान्त समारोहमा पुरुष एक हजार ३२ तथा ६०.२८ प्रतिशत र महिलाको ६ सय ८० जना अर्थात् ३९.७२ प्रतिशत दीक्षित भएका हुन् ।
त्यस्तै दीक्षित हुने विदेशी विद्यार्थी भारत, श्रीलंका, माल्दिभ्स, अमेरिका, अस्ट्रेलिया, चीन, बंगलादेश, नेदरल्यान्ड र जर्मनी गरी नौ देशका एक सय ५७ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयमा हालसम्म ३८ हजार तीन सय ३६ उत्तीर्ण तथा दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।
प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता र आइआइटी हैदेराबादका निर्देशक बिएस् मूर्तिको प्रमुख आतिथ्यता र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति देवेन्द्र पौडेलको उपस्थितिमा दीक्षान्त समारोह सम्पन्न भएको हो ।