काठमाडौं । नेवार समुदायले आज धुमधामका साथ सिथि नखः पर्व मनाउँदैछन् । जेष्ठ शुक्ल पक्ष षष्ठीअर्थात् कुमार षष्ठीका दिन मनाउने यस पर्वलाई नेवार समुदायले वर्षा अघिको अन्तिम चाडको रुपमा समेत मनाउँछन् ।
भगवान कुमारको जन्म दिनसमेत भएकाले यस दिन कुमारको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको पकवान ‘बारा’ खाने प्रचलन रहेको छ ।
त्यसैगरी घरमा भर्खर भित्रिएको नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी) समेत खाने गरिन्छ । नेवार समुदायमा ऋतुअनुसारको चाडपर्व अनुसारका पकवान खाने प्रचलन रहेको छ ।
सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ । नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका सचिव रत्नमान वनमालाले सर्वसाधारण भक्तजनको सुविधाका लागि बिहान ५ बजेदेखि मन्दिरको ढोका खुला गरिएको जानकारी दिए।
अनादिकालदेखि मनाईँदै आएको नवदुर्गा भवानीलाई आजको दिन भक्तपुर र मध्यपुरथिमी नगरका प्रत्येक घरधुरीले पूजा गरे परम्परा छ । आजको दिन नुहाउनाले वर्षा फाप्ने नेवार समुदायमा जनविश्वास छ ।