काभ्रे । जिल्लाको बनेपा–पनौती सडक खण्डमा मोटरसाइकल चालकको मृत्यु भएको छ । काभ्रेको पनौती नगरपालिका–५ स्थित् आइटीपार्कमा प्लेट नम्बर नखुलेको सवारीले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार मृत्यु हुनेमा सिन्धुपल्चोकको बलेफी गाउँपालिका–५ बस्ने अन्दाजी २८ वर्षीय फुलकाजी तामाङ रहेको छ ।
डिसपी खतिवडाले प्लेट नम्बर नखुलेको सवारीले बा ७३ प ७५०२ नम्बरको मोटरसाकललाई ठक्कर दिँदा गम्भीर घाइते तामाङलाई उपचारको लागि धुलिखेल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जानकारी दिए ।
डिसपी खतिवडाले के कुन सवारीले मोटरसाइकल चालक तामाङलाई ठक्कर दियो भन्ने खुल्न नसकेको र ठक्कर दिने सवारी साधान र चालकको खोजी कार्य भइरहेको बताए । तर तामाङलाई ट्रिपरले ठक्कर दिएको हुन सक्ने अनुमान गरेका छन् ।
घटना स्थलमा प्रहरी चौकी पनौतीबाट ५ जना, ईलाक प्रहरी कार्यालय बनेपाबाट १५ जना र जिल्ला प्रहरी कार्यालयबाट ३० जनाको टोली खटिएको छ ।