काठमाडौँ । नेकपा एमालेको अनुशासन आयोगले पूर्व उपमहासचिव समेत रहेका बौद्धिक नेता घनश्याम भुसाललाई अनुशासनको कारबाही गर्न सिफारिश गरेसँगै पार्टीभित्र तरंग सिर्जना भएको छ । केशब बडाल अध्यक्ष रहेको आयोगले भुसालले अध्यक्ष केपी ओलीविरुद्ध अभिव्यक्ति दिएको आरोप लगाएको छ ।
भुसालले २०६४ सालको संविधानसभा निर्वाचनमा पराजय व्यहोरे पनि माधव नेपालले राजीनामा गरेको प्रसंग उद्धृत गर्दै एक टेलिभिजनलाई दिएको एक अन्तवार्तामा पार्टी पराजयको नैतिक जिम्मेवारी लिँदै ओलीले राजीनामा गर्नुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।


यस्तै ९ महिनासम्म भएको संसद अवरोध गर्नुपर्छ भन्नेमा केपी ओली मात्र रहेको बताएका थिए । भुसालले सौराहामा सम्पन्न एमालेको १० औं महाधिवेशनलाई ‘काण्ड’को संज्ञा दिएका थिए ।
जुन महाधिवेशनमा भुसाल उपाध्यक्षमा पराजित भएका थिए । उपाध्यक्षमा पराजित भएपनि उनी केन्द्रीय सदस्यमा भने विजयी भएका थिए ।
अनुशासन उल्लंघन भएको ठहर गरेमा एमालेको बैठकले उनलाई केही समयको लागि केन्द्रीय सदस्यबाट निलम्बन गर्न सक्ने विधानमा व्यवस्था छ ।
अनुशासन आयोगले कार्वाही सिफारिश गरेकोप्रति भुसालले भने केही बोलेका छैनन् ।
एमालेकै नेता अर्का नेता योगेश भट्टराईले भुसालमाथि भएको कारबाही सिफारिसप्रति असन्तुष्टि जनाएका छन् । उनले अप्ठ्यारो बेलामा सबै समालिनु पर्ने भन्दै आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा नपु¥याउने बताए ।
भुसाल केपी ओलीका कटु आलोचक मानिन्छन् । उनले यसअघि वामपन्थी दलबीच एकता नभए कम्युनिस्ट आन्दोलन विनाशको बाटोमा जाने भन्दै लेखेको लेखप्रति पनि ओलीले आपत्ति जनाएका थिए ।