काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भाषणका लागि माहिर मानिन्छन् । उनी वक्तृत्व कलाको धनी मानिन्छन् । तर उनै ओलीले एउटा कार्यक्रममा आफ्नो भाषण सुन्न थोरैमात्र सहभागी भएको भन्दै गुनासो गरेका छन् ।
प्रसङ्ग हो– जेठ २२ गते आइतबारको । विश्व वातावरण दिवसका अवसरमा एमाले केन्द्रीय कार्यालय च्यासलमा एमालेको भगिनी संगठन अनेमसंघले कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा प्रमुख अतिथि र वक्ताका रूपमा बोलाइएका थिए– एमाले अध्यक्ष केपी शर्मा ओली ।
दिउँसो साढे १ बजेका लागि तय गरिएको कार्यक्रम झण्डै दुई घण्टा ढिला गरी सुरु भयो । कार्यक्रममा श्रोताको सङ्ख्या कम थियो यद्यपि ओलीले वातावरणबारे झण्डै एक घण्टा भाषण (प्रवचन) दिए ।
भाषणका क्रममा ओलीले मानव, जीवजन्तुदेखि अन्य प्राणीसमेतको व्याख्या गरेका थिए । एक घण्टा लामो सम्बोधन गरेका ओलीले आफ्नो भाषणको अन्तिममा वातावरणजस्तो महत्त्वपूर्ण विषयमा भएको गोष्ठीमा न्यून सहभागिता देखेर गुनासो मात्रै गरेनन्, आयोजकप्रति पनि प्रश्न गरे ।
सम्बोधनको अन्तिममा उनले कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद त दिए, तर सुन्ने मान्छे अत्यन्त कम उपस्थित भएकोमा आयोजकप्रति प्रश्न उठाए– आमन्त्रण गर्न कन्जुस्याइँ हो कि आफ्ना कुरा सुनाउन कन्जुस्याइँ हो रु या मान्छेहरूमा रुचि हराएको हो रु अथवा तपाईंहरूको सक्रियतामा कमी भएको हो रु त्यो मैले बुझिनँ । ओली त्यतिमा मात्रै रोकिएनन्, उनले भने, ‘यस्तो महत्त्वपूर्ण विषयमा गोष्ठी आयोजना गर्दा नेपालमा महिलाहरू पनि यतिमात्रै हुने र वातावरणसँग रुचि हुने मान्छे पनि यतिमात्रै हुने, कुर्सी खाली भएको देख्दा अचम्म लाग्यो ।’
ओलीले कार्यक्रमको महत्व धेरै भएको बताए । उनले दोहो¥याएर भने, ‘यति महत्त्वपूर्ण विषयमा तपाईंहरू सेमिनार गर्दै हुनुहुन्छ । मानिलिऊँ अरूको फोक्सो छैन, सासै फेर्नु पर्दैनजस्तो !’
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आधा फोक्सो आफ्नो छातीभित्र र आधा रुखमा हुने कुरा नबिर्सन पनि आग्रह गरे । ‘हामीले थाहा पाउनुपर्छ, हाम्रो फोक्सो आधा छातीभित्र छ, आधा रुखमा छ । फोक्सो भएन भने रुख चल्दैन, रुख भएन भने फोक्सो चल्दैन, त्यस्तो छ ।’
उनले फोक्सो र रुखको सम्बन्ध बुझ्ने मान्छे पनि थोरै भएकाले अचम्म लागेको बताए । ‘त्यसकारण यो फोक्सो र रुखको सम्बन्ध बुझ्ने मान्छे पनि यतिमात्रै हुँदा त अचम्म लाग्यो । तपाईंहरूको आमन्त्रण गर्न कन्जुस्याइँ हो कि आफ्ना कुरा सुनाउन कन्जुस्याइँ हो कि रु मान्छेहरूका रुचि हराएको हो कि तपाईंहरूको सक्रियतामा कमी भएको हो त्यो मैले बुझिनँ तर यति सानो हलमा त मान्छे नअट्नुपर्ने हो । किन थोरै मान्छे हुनुभयो, त्यो मैले बुझिनँ’, ओलीले भने ।
वातावरण जस्तो महत्त्वपूर्ण विषयमा खबर पाएर पनि कोही आएन भनेचाहिँ त्यस्ता व्यक्तिहरूलाई ‘कठैबरा’ भन्नुपर्ने उनले बताए । आमन्त्रण गरेका व्यक्तिहरूले पनि बेवास्ता गरेको हो कि भन्ने आशङ्का व्यक्त गर्दै उनले भने, ‘मलाई पनि बोलाउनुभयो, बोलाएपछि दौडेरै आएँ । तपाईंहरूलाई, सबै साथीहरूलाई धन्यवाद !’
अनि ओलीले आफूले बोलेको कुरा दर्शकदीर्घामा रहेकाहरूलाई सोधे– ‘मैले बोलेको तपाईंहरूले सुन्नुभयो ?’ राम्रो नसुनिएको र ‘इको’ आएको दर्शकदीर्घाबाट जवाफ आएपछि उनले भने, ‘यो हल नबनाएसम्म यहाँ गोष्ठी सेमिनार नगर्नुस्, शंखघण्ट बजाउनुस् । मज्जाले हुईहुई शंखघण्ट बजाएपछि हुन्छ ।
रातोपाटीबाट