काठमाडौं । सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ ।
चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिनुभयो ।
सङ्घीय संसद्अन्तर्गतको विकास तथा प्रविधिको सिंहदरबारस्थित समितिको कार्यकक्षमा आइतबार बसेको बैठकमा महानिर्देशक घिमिरेले सो जानकारी गराउनुभएको हो । उहाँले भन्नुभयो, “नेपालीहरूको महान् चाडपर्वको अवसरमा काठमाडौँ बाहिर जाने र आउने यात्रुको आवागमनलाई सहज र व्यवस्थित बनाउन रुट इजाजत खुला गरिएको हो ।” यस अवधिमा मुलुकको जुनसुकै ‘रुट’ मा पनि सार्वजनिक सवारीसाधन चलाउन पाइने उहाँले स्पष्ट पार्नुभयो ।
बैठकमा महानिर्देशक घिमिरेले यस अवधिमा मुलुकको जुनसुकै स्थानसम्म बिनारुट परमिट बस सञ्चालन गर्न पाइने बताउनुभयो । त्यसैगरी, उहाँले बसको छतमा यात्रु तथा पशुपन्छी राख्न नपाइने, सवारीसाधनले बसको ढोकामा विभिन्न गन्तव्यसम्मको भाडादर स्पष्ट रूपमा टाँस गर्नुपर्ने व्यवस्था गरेको गरिएको जानकारी गराउनुभयो ।
चाडपर्वको अवधिमा भाडादर अनुगमनका लागि सादा पोसाकका प्रहरी यात्रुका रूपमा परिचालन गरिने जानकारी दिनुभयो ।
यो खबर आजको गोरखापत्र दैनिकमा छ ।