गोरखा । गोरखा जिल्ला समन्वय समिति(जिसस) प्रमुखम नेकपा माओवादी केन्द्रका मोहनबहादुर थापा निर्वाचित भएका छन् । ९ सदस्यीय समन्वय समितिमा माओवादी केन्द्रका उमेदवार निर्विरोध निर्वाचित भएका हुन् ।
जेठ २२ गते मनोनयन दर्ताको क्रममा माओवादी केन्द्रबाट मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरुलाई सोमबार शपथ ग्रहण गराइएको छ ।
समन्वय समिति प्रमुख थापा गोरखा नगरपालिका–९ बाट वडा सदस्यमा विजयी भएका थिए । उपप्रमुखमा शहीद लखन गाउँपालिका–९ की लिला परियार निर्वाचित भएकी छिन् । त्यस्तै सदस्यहरुमा मोहन ढकाल, शिव रेग्मी, मोहम्मद हकिम, गंगा वयलकोटी, मिरा उपरकोटी, प्रविना घले र इन्दिरा देवकोटा निर्वाचित भएको मुख्य निर्वाचत अधिकृतको कार्यलयले जनाएको छ ।
समन्वय समितिमा स्थानीय तह निर्वाचनमा निर्वाचित पालिका प्रमुख र उपप्रमुखले मतदान गर्ने प्रावधान छ । ११ स्थानीय तह रहेको गोरखामा प्रमुख र उपप्रमुख गरी २२ मध्ये १५ जना माओवादी केन्द्रका मतदाता थिए । नेपाली कांग्रेसका ७ जना मतदाता छन् । एकल बहुमत भएपछि समन्वय समितिमा माओवादीको मात्र उम्मेदवारी परेको हो ।
नवनिर्वाचित अध्यक्षसहितको समितिले सोमबार पदभार ग्रहण पनि गरेका छन् । पदभार ग्रहणपछि संक्षिप्त प्रतित्रिया दिँदै नवनिर्वाचित प्रमुख थापाले समन्वय समितिले गर्ने अनुगमनलाई व्यवस्थित बनाउने बताए । विकास निर्माणको सुक्ष्म ढंगबाट अनुगमन गर्ने उनले बताए । ‘जनताको हितमा समृद्धि र विकासका लागि गाउँपालिका, नगरपालिका, संघ र प्रदेश सँग समन्वय गर्दै अघि बढ्छौँ,’ उनले भने ।