काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आले पुनः विवादमा तानिएका छन् ।
आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका हुन् । पर्यटनमन्त्री आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गरेका हुन् । आलेले गरेको गालीगलौजसहितको अडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को विरोध सुरु भएको छ ।


आले पटक पटक विभिन्न बहानामा आलोचित हुँदै आएका छन् । यसअघि पनि मन्त्री आलले कामको सिलसिलामा भारतको मुम्बई पुगेका एक नेपाली युवकसँग गालीगलौज गरेको भिडियो सार्वजनिक भएको थियो । त्यतिबेला २ मिनेट २५ सेकेन्डको भिडियो सार्वजनिक भएको थियो ।
त्यतिबेला आलेको राजीनामासमेत माग भएको थियो । मन्त्री आलेको सचिवालयले त्यतिबेला तथ्यहीन आरोप लगाउन खोजेको भन्दै खण्डन गरेको थियो ।