काठमाडौं । तामाङ भाषाको चलचित्र काख्रे (गँगटो) को ट्रिजर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘काख्रे’को ट्रिजर सार्वजनिक गर्नुका साथै आगामी असार १८ गते विशेष प्रदर्शन गरिने घोषणा गरेका छन् ।
उक्त चलचित्र आगामी असार १८ गते शनिबार दिनको ठिक १ः०० बजे राष्ट्रिय नाचघर जमलमा विशेष प्रदर्शन गरिने ‘काख्रे‘का कथाकार तथा नायक ऋतुराज पाख्रिनले जानकारी दिएका छन् ।
कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउनको समयलाई सदुपयोग गर्दै तामाङ चलचित्र क्षेत्रलाई निरन्तरता दिने क्रममा जुझारु युवाहरुको संलग्नतामा काख्रे चलचित्र तयार भएको निर्माण पक्षले जनाएको हो । लकडाउनले परेको सामाजिक तथा मानसिक प्रभावलाई मनोरञ्जन मार्फत सामन्य बनाउने उद्धेश्यले चलचित्र निर्माण गरेको भए पनि विभिन्न कारणले त्यो समयमा यस चलचित्र प्रदर्शन गर्न नसकेको कथाकार पाख्रिन बताउँछन् । चलचित्रमा गाउँ परिवेशबाट रोजगारी खोज्दै राजधानी प्रवेश गरेका युवाले भोग्नु परेको समस्याको उजागर गरेको उनको भनाई छ ।
ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्मित तामाङ भाषाको चलचित्र काख्रेको निर्देशन रोशन फ्युवा तामाङले गरेका छन् । उक्त चलचित्रको निर्माता प्रबल थिङ रहेको छ भने सह निर्माता शेखर थापा, शंकर पुढाशैनी र सरिता तामाङ रहेको छ ।
तामाङ भाषाको चलचित्र काख्रे गाउँबाट सहर पसेका तामाङ युवाहरूको कथा भएको निर्देशक रोशन फ्युवा बताउँछन् । विभिन्न जिल्लाबाट काठमाडौँ आर्इ जीविकोपार्जन गर्ने युवाहरूको जीवनयापन र सघंर्षलाई चलचित्र देखाउन खोजिएको उनले बताए ।
चलचित्रमा ऋतुराज पाख्रिन, सुनिता लुङ्बा, कुईसाङ रुम्बा, प्रबल थिङ, सिंग बहादुर तामाङ,सपना वाईबा, प्रभा घिसिङ, किरण गोर्खे, रेशम श्याउली, किरण साजन, लोप्साङ लामा, राम गोले, गेल्डेन तामाङ, रोशन तामाङ, माया स्याङबो लगायत कलाकारहरुको अभिनय रहेको छ ।
यसैगरी, चलचित्रमा विशाल काल्तान र रिन्जिन लामाको संगीत रहेको छ । प्रकाश तामाङले छायांकन गरेको काख्रेमा द्वन्द राजु किरातको रहेको छ भने शृंगार अस्मिताको रहेको छ ।
तामाङ चलचित्र संघको अध्यक्ष कुमार मोक्तानको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रममा अन्तरास्ट्रिय तामाङ परिषदका सचिव रबिन तामाङ, तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष बिनायक तामाङ, तामाङ पत्रकार संघका महासचिव तिर्थमान बल, निर्देशक अमिर दोङ, वाईबा समाजका अध्यक्ष बिगेन्द्र वाईबा लगायतको उपस्थिति रहेको थियो ।